काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर तथा घरजग्गा कर्जालाई सहज बनाउन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री महतले राष्ट्र बैंकको सम्पूर्ण सञ्चालक समितिसँग बैठक गरेका छन् । विहीवार साँझ उनले गभर्नर महाप्रसाद अधिकारीलगायत सम्पूर्ण सञ्चालक समितिलाई अर्थ मन्त्रालयमा बोलाएर मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत अर्थतन्त्र चलायमान हुने व्यवस्थाहरु गर्न निर्देशन दिएका हुन् ।

‘अहिले अर्थतन्त्र समस्यामा छ । मौद्रिक नीतिमार्फत त्यसमा सुधार गर्न सकिन्छ । त्यसो हुँदा ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण, सेयर तथा घरजग्गाको ऋणलाई सहज हुने किसिमको व्यवस्था गर्न भनेको छु,’ अर्थमन्त्री डा. महतले भने ।

राष्ट्र बैंकको बोर्डमा मन्त्रालयको प्रतिनिधिका रुपमा अर्थसचिव हुने भए पनि मन्त्रालयबाट दिएको सन्देशबारे सबै बोर्ड सदस्यमा समान बुझाइ होस् भन्ने उद्देश्यले उनीहरु सबैलाई एकै ठाउँमा राखेर छलफल गरेको उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।