काठमाडौँ — गृह मन्त्रालयले सहकारीपीडितहरूको उजुरीमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार गृहसचिव, सहसचिवलगायत मातहतका निकायसँग सहकारीका बचतकर्ताको गुनासो र उजुरीको बारेमा जानकारीसहित छलफल गरेका थिए । त्यसक्रममा कानुनबमोजिम कारबाही प्रक्रिया बढाउन निर्देशन दिएका हुन् ।
गृहले सहकारी पीडितका विषयमा कानुन कार्यान्वयनमा प्रहरी, प्रशासनबाट कमीकमजोरी हुन नदिन गृहमन्त्रीले निर्देशन दिएको जनाएको छ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेर सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छ । उनी संलग्न रहेको चितवन, वीरगन्ज, नेपालगन्ज र बुटवलका सहकारीबाट करोडौं रुपैयाँ हिनामिना भएको गुनासो बचतकर्ताले गर्दै आएका छन् । ती सहकारीका पीडितहरूले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र स्थानीय तहहरूमा उजुरी दिएका छन् ।
यसैबीच, राईसहित चार जनाविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजी प्रक्रिया अघि बढाएको छ । सूर्यदर्शन सहकारीका करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा कास्की प्रहरीले अनुसन्धान अघि बढाएसँगै राई फरार छन् । उनीसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य महेन्द्र भोटे भनिने शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गर्न लागिएको हो ।
चार जनासहित १९ विरुद्ध सहकारीको रकम हिनामिना गरेको अभियोगमा कास्की अदालतमा मुद्दा विचाराधीन छ । तर, मुद्दाका मुख्य अभियुक्त नै भेटिएका छैनन् ।