सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव अझै उठ्न सकेको छैन।

प्रदर्शनका क्रममा चलेको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका-६ का जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए।

मृतकको परिवार र प्रदर्शनकारीहरूसँग निरन्तर छलफल भइरहेको भएपनि सहमति जुट्न नसकेका कारण उनीहरूले शव उठाउन नदिएको सहायक प्रजिअ घिमिरेले बताए।

उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनले बताए।

अहिले शवलाई परालले छोपेर सडकमै राखिएको छ। मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन्।

‘सहमति नगरी शव उठाउन सक्ने अवस्था छैन, प्रदर्शनकारी र मृतकका आफन्त आक्रोशित छन्। लगातार छलफल भइरहेपनि सहमति जुटेको छैन। आज प्रदेशका मन्त्रीज्यू पनि छलफलमा आउने भनिएको छ,’ उनले भने। शुक्रबार प्रदर्शनका क्रममा गोली चलेपछि साहको मृत्यु भएको थियो।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।