राष्ट्रपतिले सजाय मिनाहा गरेका व्यक्ति सुन ल्यापटप चोरेपछि फेरि पक्राउ

काठमाडौं । हाम्रोमा एउटा चलन जस्तै छ र कानुनी प्रावधान पनि छ, संविधान दिवस, प्रजातन्त्र दिवसका दिन कैद सजाय भोगिरहेकालाई मिनाहा गरिदिने । यस्तो मिहाना के कसरी गर्ने भन्ने कानुनी व्यवस्था छ । तर, कानुनी व्यवस्था विपरित सरकारमा जो हुन्छ उसले आफू नजिकका, पहुँच र शक्ति केन्द्रका आधारमा सजाय मिनाहा गरिदिने गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले यस्तो सजाय मिनाहा गर्ने गरिन्छ । आचरण सुधार भएको र पचास प्रतिशत सजाय कट्टा गरिसकेकालाई सजाय मिनाहा गर्नुपर्ने व्यवस्था भएपनि पहुँचका आधारमा सजाय मिनाहा गर्दा त्यस्ता व्यक्ति पुनः पक्राउ पर्ने गरेका छन् ।

दोलखा घर भई भक्तपुरको निकोसेरा बस्ने रघुनाथ बस्नेत त्यस्तै एक पात्र हुन् । उनी पनि संविधान दिवसको दिन कैद सजाय मिनाहा पाएर छुटेका थिए । उनले ललितपुरका विभिन्न ठाउँमा चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

उनले कात्तिक १५ गते सानेपाका तोपबहादुर थापाको घरमा बस्ने जर्मन नागरिक ड्यानिक फुच्सको कोठाबाट तीन वटा ल्यापटप, एउटा क्यामेरा र ४७ हजार नगद चोरी गरेको आरोप छ। भनिमण्‍डलस्थित उषा श्रेष्ठको घरमा बसेका नर्वेजियन नागरिक जेन्रिक सब्स टड्सरडको ३० हजार नगद र कपडाहरू चोरी भएको थियो। यसैगरी, मंसिर १७ गते ललितपुर-२ सानेपामा डेरामा बस्ने सुप्रिया राईको कोठाबाट २० तोला सुनका गहना र ६३ तोला चाँदीका गहना चोरी भएको थियो।

ललितपुर महानगरपालिका-३ झम्सिखेल बस्ने ठाकुरनाथ ढकालको घरमा चोरी गरेको आरोप उनीमाथि छ। रघुनाथले ठाकुरनाथको घरबाट पुस १ गते राति कोही नभएको बेला करिब २७ तोला सुनका गरगहना, करिब १५ तोला चाँदीका गहना, ३० हजार रुपैयाँ र ८२५ अमेरिकी डलर समेत चोरी गरेको आरोप छ।

उनको चोरी गर्ने तरिका पनि बडो गजबको छ । प्रहरीका अनुसार चोरी गर्नुअघि रघुनाथले ठाउँको रेकी गर्ने गरेका छन्। चोरी गर्न जाने दिन उनले छुट्टै एक जोर कपडा समेत बोक्ने र चोरी गर्न जानुअघि एउटा कपडा लगाएर घरभित्र पसेपछि चोरी गरिसकेर त्‍यहाँबाट निस्किँदा अर्कै कपडा लगाएर फर्किने गर्थे । चोरी मुद्दामा मात्रै उनी ९ पटक पक्राउ परिसकेका छन्। उनीविरूद्ध अभद्र व्यवहार कसुरमा तीन पटकसहित १२ पटक मुद्दा चलिसकेको छ।

विभिन्न कसुरमा उनलाई १२ वर्ष कैद सजाय भएको पाइएको छ। पछिल्लो पटक २०७७ सालमा दोलखाबाट चोरी कसुरमा मुद्दा चलेको थियो। बस्नेत गत संविधान दिवसमा कैद सजाय मिनाहा पाएर छुटेका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।