काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँकाे दृश्यहरु अहिले नेपालको जस्तै बनेको छ । जहाँ नेपालकाे भुगाेल, नेपाल प्रहरीका गाडीदेखि नेपालका घरहरु सजिएका छन् । सोही अनुसारको रंगरोगन छ भने जहाँ हलिउडका स्टार तथा कलाकर्मीहरुको जमघट छ ।

हो त्यहीँ नेपालको दृश्य देखिने ठाउँमा अहिले लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर फिल्म ‘आइस रोड २’ को छायांकन भइरहेको हो । कथावस्तु र सेटिङ पूरै नेपालको भएपनि नेपालको नक्कली भूगोल र घरहरुको सेट खडा गरेर हलिउड फिल्मको सुटिङ सुरु भइरहेको हो । फिल्मको मुख्य कथावस्तु चाहिं कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वालहल्ला भन्ने ठाउँका सबै घरमा रङ पोतेर नेपालको जस्तै तुल्याइएको छ । ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान तैनाथ गरिएको छ । नेपाली पोशाकका प्रहरी समेत खडा गरिएको छ ।

अष्ट्रेलियाका संघीय र राज्य सरकारले स्थान प्रोत्साहन योजना, भिक्टोरियन स्क्रिन प्रोत्साहन र क्षेत्रीय स्थान सहायता कोषमार्फत फिल्मलाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेका छन् । यो फिल्मको छायांकनबाट भिक्टोरिया राज्यलाई २० मिलियन अमेरिकी डलर फाइदा हुने बताइएको छ ।

नेपालको सेटमा अष्ट्रेलियामा फिल्मको छायांकन भइरहँदा नेपालमा नै उक्त फिल्मको छायांकनको लागि सरकारले प्रोत्साहन गर्न नसकेको र यस्ता फिल्महरुलाई नेपालमा नै छायांकनका लागि वातावरण बनाउन सरकार लाग्नुपर्ने सुझावहरु आइरहेका छन् । हेर्नुहोस् एजेन्सीको सहयोगमा संकलित तस्बीरहरु

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।