Monday, August 17, 2026
25.4 C
Kathmandu
Home मुख्य समाचार व्यापारी अग्रवालको ७० किलो सुन तस्करीसम्म कनेक्शन

व्यापारी अग्रवालको ७० किलो सुन तस्करीसम्म कनेक्शन

काठमाडौं । कपडा व्यापारी नरेश अग्रवालको सुन तस्करी सम्बन्धी विषयमा पनि कनेक्शन देखिएको छ । हुन्डी कारोबारको आरोपमा पक्राउ परेका अग्रवाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चोरी भएको ९ किलो सुन र सोही विमानस्थलबाहिरबाट बरामद करिब ६१ किलो सुनको पैसा भुक्तानी गर्ने आधिकारिक एजेन्ट रहेको पाइएको हो ।

नागरिक दैनिकका अनुसार सुन जोख्ने मेसिन र ‘कल डिटेल’का आधारमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको छ। उनी माघ ३ गते राति क्षेत्रपाटीबाट पक्राउ परेका थिए। त्यसक्रममा उनको घरबाट सुन जोख्ने मेसिन बरामद गरिएको थियो। उक्त मेसिन र कारोबारका क्रममा भएको ‘कल डिटेल’मा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा सुन तस्करीका दुवै प्रकरणमा रकम भुक्तानीमा उनको संलग्नता देखिएको हो।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको सहयोगमा राजस्व अनुसन्धान विभागले अग्रवाललाई पक्रेको थियो। विभागको टोलीले त्यतिबेला उनको घरबाट २ करोड नेपाली रुपैयाँसहित २ हजार अमेरिकी डलर र अन्य देशका मुद्रा पनि बरामद गरेको थियो। त्यसक्रममै उनको घरबाट सुन जोख्ने मेसिन पनि बरामद भएको थियो।

विभागको अनुसन्धानको दायरामा आएपछि सुन तस्करी प्रकरणहरूमा रकम भुक्तानी गर्ने कार्यमा उनको संलग्नता देखिएको हो। विभागका महानिर्देशक नवराज ढुंगानाले अवैध कारोबारमा ‘कनेक्सन’ देखिएपछि उनीमाथि गहिरो अनुसन्धान भइरहेको बताए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।