Sunday, October 11, 2026
25.2 C
Kathmandu
Home ब्यानर दोषीलाई कारबाही नगरी चौधरी ग्रुपले हडपेको जग्गा बालुवाटारकाण्ड झैं सामसुम पार्ने चलखेल

दोषीलाई कारबाही नगरी चौधरी ग्रुपले हडपेको जग्गा बालुवाटारकाण्ड झैं सामसुम पार्ने चलखेल

काठमाडौं २६ माघ । बालुवाटारकाण्डले परिचित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको जग्गा हिनामिना गरेको आरोपमा मुछिएकाहरु मध्ये जोडिने एउटा नाम हाे- तत्कालिन नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल । पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारमा ८ आना जग्गा फेला परेपछि उनी जग्गा हिनामिनामा तानिए ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको टोलीले अनुसन्धान अघि बढाएदेखि नै उनको नाम यो प्रकरणमा मुछिएको थियो। पौडेलको नामको जग्गा फिर्ता लिएर उनलाई कारबाही नै नगरी उन्मुक्ति दिएको थियो ।

अहिले चौधरी समूहले हडपेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गाको विषयमा पनि जग्गा फिर्ता लिने र दोषी उपर कारबाही नै नगरी उन्मुक्ति दिने प्रपञ्च सुरु भएको छ । अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएसँगै सरकारी निकायहरूले जग्गा फिर्ता ल्याउन औपचारिक प्रक्रिया थालनी गरेका छन्।

बिहीबार भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले चाँदवाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई म्याद बुझाएको छ । हाल चाँदबाग रेसिडेन्सी प्रालिका नाममा रहेको जग्गा २१ दिनभित्र फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले पत्राचार गरेको छ।

त्यसो गर्दा उनीहरूविरुद्धको मुद्दा कमजोर हुने र बिगो कायम नहुने हुँदा यसअघि बालुवाटार प्रकरणमा एमाले नेता विष्णु पौडेलका छोरा नविन र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीलाई जस्तै जग्गा फिर्ता ल्याएर उन्मुक्ति दिन खोजिएको अनुमान छ । प्रहरीले यस सम्बन्धमा अनुसन्धान जारी राखेको र अनुसन्धान पश्चात कानुन बमोजिम मुद्दा प्रक्रिया अघि बढ्ने भएपनि हतारमा जग्गा फिर्ताको प्रक्रिया अघि बढाइएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।