काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको हो ।

विद्युत् खरिद, प्रशासनिक, आयोजनाहरुलगायतमा जम्मा ५१ अर्व ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत बिक्री र खरिद तथा आयोजनाहरुमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड ६ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गत आवको पहिलो ६ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको सोही अवधिमा ४ अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । प्राधिकरणले चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको छ । सोही अवधिमा १ अर्व ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।