Saturday, July 25, 2026
Home ब्यानर मुख्यसचिव अर्यालले भ्रष्टाचार अभियुक्तबाट पैसा लिएकाे प्रमाण फेला

मुख्यसचिव अर्यालले भ्रष्टाचार अभियुक्तबाट पैसा लिएकाे प्रमाण फेला

काठमाडौँ —भ्रष्टाचारका करिब दर्जन कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको थुनामा रहेका सेक्युरिटी प्रिन्टिङ सेन्टरका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच ‘संदिग्ध आर्थिक लेनदेन’ भएको पाइएको छ । अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा सेक्युरिटी प्रिन्टिङमा पुनः नियुक्तिको दौडधुपमा रहेका पौडेलले तेस्रो व्यक्तिमार्फत रकम दिएको प्रमाण भेटिएको छ । 


सेक्युरिटी प्रिन्टिङका उपकरण खरिदमा ६९ करोड ८ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विकलसहित नौ जनाविरुद्ध दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । त्यस्तै गैरकानुनी आर्जनसहितका दर्जन कसुरमा अनुसन्धान गर्न उनलाई अख्तियारले थुनामा राखेको छ । उनीविरुद्ध नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एकसाथ अनुसन्धान गरिरहेका छन् । यस्ता व्यक्तिसँग निजामती प्रशासनको सर्वोच्च पदमा रहेका अर्यालले आर्थिक लेनदेन गरेको भेटिएको हो, त्यसो त अर्याल स्वयम् पनि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा अख्तियारको अनुसन्धानको दायरामा छन् ।


कान्तिपुर दैनिककाे आज प्रकाशित समाचार अनुसार पौडेल र अर्यालबीच ‘ह्वाट्सएप’ मा नियमित सन्देश आदानप्रदान हुने गरेको, सरकारी फाइल आदानप्रदान भएको र अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले क्रमशः ५ लाख र ९ लाख रुपैयाँ दिलाएको देखिन्छ । दुवै पटक तत्कालीन सञ्चार सचिव अर्यालले तोकेका मानिसको बैंक खातामा रकम जम्मा भएको भौचर पनि प्राप्त भएकाे समाचारमा उल्लेख छ ।


भ्रष्टाचार अनुसन्धानमा रहेका विभिन्न निकायबाट प्राप्त कागजपत्रअनुसार दुई जनाबीच २०७८ भदौ २१ (सेप्टेम्बर ६, २०२१) देखि ह्वाट्सएपमा संवाद सुरु हुन्छ । साँझ ६:३९ मा अर्यालको ९८५११८८८१३ नम्बरमा म्यासेज आउँछ, ‘नमस्कार हजुर म विकल ।’ भोलिपल्ट सेक्युरिटी प्रिन्टिङ सेन्टरको एउटा डकुमेन्ट पनि यही नम्बरमा ‘फरवार्ड’ हुन्छ ।


पुष्पकमल दाहाल प्रधानमन्त्री र सुरेन्द्र (राम) कार्की सञ्चारमन्त्री भएका बेला तत्कालीन मन्त्रिपरिषद्को अन्तिम बैठकले २०७४ जेठ १९ मा पौडेललाई सेक्युरिटी प्रिन्टिङको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि केपी शर्मा ओली प्रधानमन्त्री र गोकुल बाँस्कोटा सञ्चारमन्त्री हुँदा भएको ७० करोडको अडियो प्रकरणको पृष्ठभूमिमा पनि उनै पौडेल थिए ।
२०७८ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ज्ञानेन्द्रबहादुर कार्की सञ्चारमन्त्री र अर्याल सञ्चार सचिव भएका थिए । यो बेलासम्म पौडेल सेक्युरिटी प्रेसको कार्यकारी निर्देशकमा पुनः नियुक्ति पाउने ध्याउन्नमा लागिसकेका थिए । यहीबीचमा तत्कालीन सञ्चार सचिव अर्याल र पौडेलबीच सेक्युरिटि प्रिन्टिङसम्बन्धी कार्यपत्र मात्र होइन, आर्थिक लेनदेन पनि भएको खुलेको छ ।


२०७८ असोज ७ (२३ सेप्टेम्बर, २०२१) मा अर्याल आफैंले पौडेललाई ह्वाट्सएपमा कल गर्छन्, कल ‘रिसिभ’ नभएपछि म्यासेज गर्छन्, ‘डिड् यु फलो अप विथ द एमओएफ (तपाईंले अर्थ मन्त्रालयमा ताकेता गर्नुभयो ?) ।’ जवाफमा पौडेल भन्छन्, ‘हो सर, मैले फलो गरिरहेको छु हजुर । तर, मन्त्री (जनार्दन शर्मा) बाट फाइलमा हस्ताक्षर भएको छैन । मैले धनबहादुर बरुवाल (अर्थमन्त्रीको सचिवालयका उपसचिव) सँग यो विषयमा १५ मिनेटअघि मात्रै अपडेट लिएको थिएँ । उनले समय मिल्नासाथ मन्त्रीसमक्ष फाइल पेस गर्छु भनेका छन् ।’


पौडेलको जवाफबाट अर्याल सन्तुष्ट हुँदैनन् । भन्छन्, ‘तपाईं आफैं त्यहाँ जानुपर्ला ।’ योबीचमा पौडेललाई भन्दा अर्याललाई बढी चासो भएको देखिन्छ । उनको चासो स्वीकार्दै पौडेलले ‘हस सर’ भन्छन् । उनीहरूबीच संवाद जारी रहन्छ । संवादलाई गोप्य राख्न ह्वाट्सएपको ‘सेक्युरिटी कोड’ पनि पौडेलले परिवर्तन गरिरहन्छन् । यहीबीच २०७८ माघ १६ (३० जनवरी, २०२२) मा अर्यालले पौडेललाई खाली चेकको तस्बिर पठाउँछन् जसमा पैसा पठाउनुपर्ने व्यक्तिको नाम र खाता नम्बर मात्र देखिन्छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकमा रोशनदर्शन बज्राचार्यको नाममा रहेको खाता नम्बर १८–*–१ मा रकम पठाउन आग्रह गरिएको देखिन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।