काठमाडौं । बालमन्दिर प्रकरणले गर्दा बृहस्पति सदनमा अध्ययनरत विद्यार्थी र अभिभावकमा मानसिक तनाव उत्पन्न भएको पाइएको छ । सोही कारण कतिपयले स्कुल छाडेको र कतिले स्कुल छाड्न तयारी गरेको पाइएको छ ।
अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको नक्साल, काठमाडौँस्थित बालमन्दिरका लागि जोहो गरिएको २८ रोपनी जग्गा अहिले व्यापारिक घराना विशाल ग्रुपको कब्जा छ । सोही विवादित जग्गामा बनेको छ बृहस्पति सदन । जुन जग्गाकाे विषयमा सरकारले जुनसुकै बेला ‘एक्सन’ लिने आशंकाले बृहस्पतिमा अध्ययनरत विद्यार्थी र अभिभावकमा भय सिर्जना भएको पाइएको हाे । बाल संगठनबाट लामो समयका लागि लिजमा हात पारेको जग्गामध्ये विशाल ग्रुपले ९ रोपनी जग्गा ‘सब–लिज’मा दिएको देखाएको छ। जबकि त्यो सब लिजमा दिइएको भनिएको जग्गामा पनि अधिकांश लगानी विशाल ग्रुपकै रहेको राय स्कुल सञ्चालन भइरहेको छ। राय स्कुल भारतको केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट मान्यताप्राप्त विद्यालय हो।
सरकारले ‘एक्सन’ लिएको अवस्थामा पठनपाठनमा नै समस्या देखिने र अनावश्यक झण्झट र विवादमा फसिने भएपछि कतिपयले विद्यालय नै छाडेको एक जना अभिभावकले बताएका छन् । उनका अनुसार यो वर्ष अन्य नाम चलेका विद्यालयमा निक्कै विद्यार्थीको चाप देखिनुका कारण पनि बृहस्पतिको जग्गा विवाद र बासबारीस्थित जुत्ता कारखानाको जग्गाको विवाद रहेको पाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भइसकेको छ । सोही जग्गामा चाँदबाग स्कुल सञ्चालन हुँदै आएकोमा विवादपछि त्यहाँबाट विद्यार्थीहरु अन्यत्र सरिरहेका छन् । बृहस्पति र रायमा पनि त्यस्तै घटना घट्ने सक्ने भन्दै विद्यार्थी र अभिभावक विद्यालय छान्ने चिन्तामा रुमलिन बाध्य भएका छन् ।
२ हजार विद्यार्थीहरुको भविष्य अन्यौल
बृहस्पति सदनका अनुसार त्यहाँ १७ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । १४७ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । जग्गा विवादले उनीहरुमा एक प्रकारको भय जहिल्यै देखिने गरेको छ, त्यो हो सरकारले कुनै दिन एक्सन लिएमा के गर्ने भन्ने ।
हुन पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान आयोग र सिआईबीले उक्त जग्गाको विषयमा छानबिन गरिरहेकाे छ । हालै मात्रै यस्तै प्रकारकाे घटनाको बाँसबारीको जग्गा सरकारले फिर्ता लिइसकेको छ ।
के हो विवाद
नक्सालमा रहेको निजी विद्यालय, बृहस्पति विद्या सदन सञ्चालनका लागि विशाल ग्रुपले बाल संगठनको २८ रोपनी ५ आना १ पैसा जग्गा कब्जा गरेको मुख्य विवादको विषय हो । पछिल्लोपटक भएको लिज सम्झौताअनुसार यो जग्गा आउँदो २१३२ सालसम्म बृहस्पतिको नियन्त्रणमा रहनेछ। तर, उक्त सम्झौता नै गैरकानुनी भएको विवाद नै अहिलेको मुख्य चर्चा र विवादको विषय हो ।
अहिले विशाल ग्रुपका सदस्यहरू नै बहुसंख्यक लगानीकर्ता रहेको बृहस्पति स्कुलले यो जग्गा २०४९ सालयता बाल संगठनका पदाधिकारीसँग पटक–पटक गैरकानूनी सम्झौता गरेर कब्जा गरिरहेको उकालोले समाचार सार्वजनिक गरेको छ ।
उकालोमा प्रकासित समाचार अनुसार बालमन्दिर जग्गा प्रकरणमा अख्तियारले यसभन्दा पहिले पनि अनुसन्धान गरेको थियो। त्यसबेला बाल संगठनबाट बृहस्पति स्कुलले १३ रोपनी १२ आना १ पैसा जग्गा लिजमा लिँदा भाडा रकम नमिलेको भन्दै लिज सम्झौता नै रद्द गर्न अख्तियारले बाल संगठनलाई निर्देशन दिएको थियो। यिनै विषयको विवाद अहिले पनि जारी छ । व्यापारिक समूह र सरकारबीचको विवादको सिकार भने विद्यार्थी र अभिभावक हुने खतरा पनि उतिनै रहेको छ ।