काठमाडौं १४ वैशाख । देशमा डढेलेका घटना बढेसँगै वायु प्रदुषण उच्च तहमा पुगेको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरण प्र्राधिकरणका अनुसार शुक्रबार देशका पाँच स्थानमा वायु प्रदुषण स्वास्थ्यका लागि जोखिमपूर्ण अवस्थामा छ ।
काठमाडौंं, ललितपुर, कञ्चनपुर, मुगु र भक्तपुरमा वायु प्रदुषण जोखिमयुक्त अवस्थामा छ । आगलागीलगायतका कारण विगतको महिनादेखि नै काठमाडौंको वायु प्रदुषण जोखिमयुक्त रहेको छ ।
आईक्यूएयरका अनुसार काठमाडौं शुक्रबार विश्वकै प्रदुषित वायु रहेको शहरमा रहेको छ । शुक्रबार दिउँसो एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १७७ पुगेको छ ।
विश्वका प्रदुषित शहरमध्ये काठमाडौंं एक नम्बरमा छ भने दोस्रो स्थानमा चीनको बेइजिङ रहेको छ । यस्तै भियतनामको हनोइ तेस्रो नम्बरमा रहेको छ । यी तीन शहरको वायु प्रदुषण निकै हानिकारक अवस्थामा छ । चौथो स्थानमा भारतको कोलकाता र पाँचौ स्थानमा बंगलादेशको ढाका रहेको छ । यी दुई शहरको हावा सेन्सेटिभ समूहका लागि हानिकारक छ ।