काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् ।
उनका विरुद्धमा विशेष अदालतमा २१ वर्षअघि मुद्दा दायर भएको थियो । विशेषबाट फैसलापछि सर्वोच्चबाट पनि १२ वर्षपछि आइतबार पूर्वमन्त्री जोशीको मुद्दा टुंग्गिएको हो ।
३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले १३ वर्ष कैद सजायको माग गरेको थियो । तर म्याद गुज्रेको भन्दै विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले जोशीको मुद्दा २०६३ कात्तिक ३० मा खारेज गरिदिएका थिए ।
विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो । ५ वर्षपछि २०६८ पुस २४ मा सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले जोशीविरुद्धको मुद्दा खारेज गर्ने सुरु अदालतको निर्णय उल्ट्याउँदै पुनः तथ्यमा प्रवेश गरेर फैसला गर्नुपर्ने ठहर गरेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० मा जोशीलाई डेढ वर्ष कैदका अतिरिक्त २ करोड १६ लाख जरिवाना हुने फैसला गरेको थियो ।
विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुन ६ मा सर्वोच्चमा पुनरावेदन गरेका थिए । १२ वर्षपछि सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई नौ महिना कैद सजाय र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । सर्वोच्चले कुन कुन आधारमा सजाय घटाएको भन्ने विषय भने लिखित पूर्णपाठ आएपछि मात्र थाहा हुनेछ ।