काठमाडौं । कम्तिमा ६८ जनाको निधन हुने गरी भएको सिमलताल बस दुर्घटनाको मुख्य कारण सडक विस्तारका क्रममा गरेको लापरबाही रहेको पाइएको छ ।
सरकारले गठन गरेको गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वकोे छानबिन समितिले नै यस्तो निष्कर्ष निकालेको हो ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, यातायात व्यवसायी र मजदुरका प्रतिनिधि सदस्य थिए । २ साउनमा दुर्घटनास्थल पुगेको टोलीले दुर्घटनामा बाँचेकाहरुसँग पनि सोधपुछ गरेको थियो । समिति छानबिन टुंग्याएर प्रतिवेदन लेखनको अन्तिम तयारीमा जुटेको छ ।
दुर्घटना स्थलमा सिन्दुरे खोल्सी छ । पछिल्लो समय मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले बाटो खनेको पाइएको छ । बाटो खन्ने क्रममा निस्किएको ढुंगामाटोलाई त्यही सिन्दुरे खोल्सीमा फालेका कारण पानी पर्दा लेदो बगेर आएको थियो । मुख्य राजमार्गभन्दा माथि स्थानीय तहले बाटो खनेको र पानी पर्दा लेदा बगाएर ल्याउँदा दुर्घटना भएको समितिको ठहर रहेको छ ।
२८ असारको विहानीपख चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो माटोसहितको पहिरोले दुई वटा बसलाई त्रिशूलीमा खसालेको थियो । दुई वटा बसमा गरी ६८ जना थिए । ३ जनाले पौडिएर ज्यान बचाउन सफल भए भने हालसम्म २४ जनाको मात्र शव फेला परेको छ ।