काठमाडौँ । धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्र (मुक्कुमलुङ) केवलकार बनाउने विषय पछिल्ला दिनमा चर्चा र विवादकाे उत्कर्षमा छ ।
बिहीबार (फागुन ८) मात्र सो क्षेत्रमा नो केबलकार समूह र प्रहरीबिच झडप भएको थियो । घटनामा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना तथा नो केबलकार समूहका १ जना घाइते थिए ।
नाे केबलकार पक्षले केबलकार बनाउँदा सम्पदा र पहिचानकाे नष्ट हुने भन्दै निरन्तर दबाब र आन्दाेलन गर्दै आएकाे छ । तर, एमालेका नेताहरू भने खुलेरै केबलकार बनाउनुपर्ने पक्षमा उभिएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल ताप्लेजुङका सांसद समेत रहेका एमाले सचिव याेगेश भट्टराई लगायत नेताले सार्वजनिक रूपमा नै केलबकार बनाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।
सत्ताकाे नेतृत्व समेत गरिरहेकाे एमाले जिम्मेवार नेताहरू विवाद हल गर्नका सट्टा मुक्कुमलुङ (पाथिभरा) मा केबलकार बनाउने पक्षमा अस्वभाविक सक्रिय भएकाे पाइएकाे छ ।
महासचिव पाेखरेलले पाथीभरा मन्दिरमा केबलकार निर्माण बिथोल्न नहुने बताए। ताप्लेजुङवासीको चाहनाविपरीत बाहिरकाले यसलाई बिथोल्न खोजेको उनले आरोपसमेत लगाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा बिहिबार (८ फागुन) लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।’
यसअघि, सचिव भट्टराईले पत्रकार सम्मेलन नै गरेर पाथिभरामा केबलकार बन्नुपर्ने बताएका थिए । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली केबलकार बनाउनुपर्ने पक्षमा रहेकाे बुझिएकाे छ । त्यसैले पनि विवादका बिचमा पनि एमालेका नेता कार्यकर्ता केबलकारकाे पक्षमा खुलेरै उभिन थालेका छन् ।
केबलकार बनाउने/नबनाउने विषय वार्ता संवाद र सहमतिका आधारमा हुनुपर्नेमा राजनीति र शक्तिकाे आडमा अघि बढ्न खाेजेकाे भन्दै कतिपयले चिन्ता व्यक्त गरेकाे समेत पाइन्छ ।
विवाद मिलाउन छाडेर एमाले नेताहरू पाथिभरामा केबलकार बनाउने पक्षमा अस्वभाविक सक्रिय
Comments