काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको लगानी रहेको चन्द्रागिरी हिल्सले सर्वसाधरणसँग कानुन विपरित सर्वसाधरणलाई मार पर्ने गरी १०० रुपैयाँ असुलीरहेको पाइएको छ ।
चन्द्रागिरी डाँडामा रहेको भालेश्वर मन्दिर दर्शनमा जाने पैदलयात्रुसँग चेकप्वाइन्ट नै खडा गरी गैर कानुनी रुपमा चन्द्रागिरी हिल्सले १०० रुपैयाँ लिने गरेको पाइएको हो ।
चन्द्रागिरीमा केबलकारमार्फत जाने सर्वसाधरणलाई कुनै पनि प्रकारका खाने कुरा लैजान निषेध गरिएको छ । जसका कारण चन्द्रागिरी डाँडामा महँगोमा सामान किन्न सर्वसाधरण बाध्य हुँदै आएका छन् । चन्द्रागिरीले पछिल्लो समय पैदल यात्रुलाई समेत गैरकानुनी ढंगले १०० रुपैयाँ असुल्ने गरेको पाइएको हो ।

चन्द्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकाल हुन् । उनी चन्द्र ढकालका भाई हुन् । यसअघि चन्द्र ढकाल नै हिल्सको अध्यक्ष थिए । राष्ट्र बैंकको नीतिका कारण उनले भाईलाई हिल्सको अध्यक्ष बनाए भने उनले ग्लोबल आईएमई बैंकका अध्यक्ष रोजे ।
हिल्सको अध्यक्ष छाडेपनि हिल्समा अहिले पनि उनको २९ लाख ४३ हजार ३ सय ३७ कित्ता सेयर रहेको छ । अध्यक्ष रहेका उनको भाईको भने उनको भन्दा एक कित्ता मात्र बढी सेयर रहेको छ । दाजुभाईको गरेर ३८.३८ प्रतिशत सेयर रहेको छ ।

सुरुवातीदेखि नै विवाद
चन्द्रागिरी केबलकार निर्माण सुरु गर्दादेखि नै विवादित छ । सार्वजनिक वन क्षेत्रलाई अतिक्रमण गरी केवलकार निर्माण गरेको, सिमेन्ट र कंक्रिट प्रयोग नगरी सामान्य होटल खोल्न अनुमति दिएपनि सिमेन्ट प्रयोग गरेर तारे होटलस्तरको निर्माण गरेको लगायत विषयमा चन्द्रागिरी केलबकारको विरोध हुँदै आएको छ । नियम विपरित कार्य गरेपछि सरकारले दण्ड जरिवाना समेत गरेको हेलोखबरले प्राप्त गरेको छ ।
सर्वसाधरणबाट अवैध ढंगले लाखौं असुली

चन्द्रागिरी हिल्सलाई सरकारले केवलकारको भाडा मात्रै उठाउन अनुमति दिएको छ । तर, अहिले आम्दानी बढाउने नाममा उसले राष्ट्रिय वन क्षेत्रमा निजि सुरक्षा गार्ड राखेर दैनिक लाखौं रुपैयाँ रकम उठाइरहेको बिमापोष्टले उल्लेख गरेको छ । उक्त अनलाइन र सामाजिक सञ्जालहरुमा सार्वजनिक रसिद अनुसार नम्बर ९१२६ उल्लेख भएको पाइन्छ । यस हिसाबले पनि नाैं लाख भन्दा बढी हिल्सले सर्वसाधरणबाट उठाईसकेको छ । स्थानीयबासीले भने चन्द्रागिरी हिल्सले उठाएको रकम अबैध भएको भन्दै विरोध जनाउँदै आएका छन् । सरोकारवाला निकायको बेवास्ताका कारण चन्द्रागिरीले भने सर्वसाधरणमाथि आर्थिक भार थोपरिरहेको हो ।
थाहा नगरपालिाद्धारा सात दिनभित्र चेकप्वाइन्ट हटाउन निर्देशन
थाहा नगरपालिकाले हिल्सले प्रति पैदल यात्रु एक सयका दरले उठाउने गरेको गुनासो आएको भन्दै तत्काल हटाउन निर्देशन दिएको छ ।
थाहा नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रति पैदल यात्रु एक सय शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भईरहेको जनाउँदै नगरपालिकासँग शुल्क उठाउने कुनै पनि सम्झौता नभएको स्पष्ट पारेको छ ।
नगरपालिकाले चन्द्रागिरी हिल्सलाई सो कार्य तत्काल बन्द गरी उक्त पद मार्ग भई भालेश्वर मन्दिरसम्म आवत जावत गर्ने कुनै पनि पैदल यात्रीहरुलाई रोकावट नगर्न निर्देशन गरेको छ भने चेकप्वाइन्टमा राखिएको सामग्रीहरु ७ दिनभित्र हटाउन समेत निर्देशन दिएको छ ।

चन्द्रागिरी नगरपालिकाले पनि शुल्क उठाउन सहमति नदिएको जनाउँदै कम्पाउण्ड क्षेत्रमा प्रवेशका लागि पैसा उठाउने गरेको जानकारीमा आएको जनाएको छ ।
यस विषयमा हेलोखबरले हिल्ससँग आधिकारिक प्रतिक्रिया लिने प्रयास गरेको थियो । चन्द्रागिरी हिल्स पब्लिक लिमिटेड भएकाले सूचनाको हक सम्बन्धी कानुन अनुसार हिल्सले सूचना अधिकारी तोकेको पाइएन । बेवसाइटमा राखिएको ल्याण्डलाइन नम्बरमा सम्पर्क गर्दा आफूहरुलाई यस विषयमा जानकारी नभएको प्रतिक्रिया प्राप्त भयो ।