काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गी तथा हैजा रोग जस्ता महामारीजन्य रोगहरूको रोकथाम र नियन्त्रणका लागि ३२ वटै वडाहरूमा व्यापक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
जसका लागि महानगरपालिका बहु क्षेत्रीय समन्वय र सामुदायिक सहभागितामा आधारित कार्य योजना तयार गरेको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिए ।
अभियानअन्तर्गत लामखुट्टेको वासस्थान खाेजपड्ताल गरी लामखुट्टेकाे लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ। त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा र टायर हटाउने, पार्कहरूको सरसफाइ गर्ने योजना छ। “पानी जम्ने ठाउँ र झाडीहरूमा लामखुट्टेको वासस्थान बन्न सक्छ। यस्ता ठाउँ हटाउन वातावरण व्यवस्थापन विभागसँग समन्वय भइरहेको छ,” केसीले बताए ।
महानगरले शहरी व्यवस्थापन विभागसँग मिलेर निर्माण सामग्रीका सामान अव्यवस्थित रूपमा राखेका सामानहरू हटाउनका लागि पहल गर्ने र पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने छ । यस सँगै महानगर प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा यूथ ग्रुपसँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गरिँदै छ। वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा यो अभियान सञ्चालन हुनेछ ।
स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार महानगरपालिकाका प्रत्येक कार्यालयमा शुक्रवार बिहान ९:३० देखि १०:०० बजेसम्म कार्यालय परिसरमा लामखुट्टेको वासस्थान खोज गरी लार्भा नष्ट गर्ने अभियान नियमित रूपमा सञ्चालन हुँदै छ । यो कार्यमा निजी क्षेत्र सँग सम्बन्धित कार्यालयहरू समेत सहभागी हुनका लागि महानगरपालिकाले अनुरोध गरेको छ।
५३ वटा सरकारी र निजी अस्पतालहरूलाई आफ्नो परिसर सरसफाइ र लामखुट्टेको वासस्थान हटाउन निर्देशन दिइनेछ। “निजी स्वास्थ्य संस्थाबाट स्पष्ट तथ्याङ्क नआउँदा डेङ्गी सङ्क्रमितको सङ्ख्या यकिन गर्न कठिन भएका कारणले यसलाई व्यवस्थित गर्नका लागि समन्वय र छलफल गरिनेछ,” भुसालले भने ।
हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक र्याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गरिनेछ। पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र खान सुझाव दिइएको छ। खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ ।
विद्यालयहरूमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथामसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हालसम्म २१ विद्यालयमा डेङ्गी रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम र सबै वडाहरूमा हैजा रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भइसकेका छन्। “विद्यार्थीले सिकेका कुरा समुदायमा पुर्याउन सहज हुनेछ। प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइनेछ,” भुसालले बताए।








