जेनजीको सिधा निशानामा महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत अहिले जेनजी समूहको निशानामा परेका छन् । उनी सहभागी हुने प्राय सबै ठाउँमा जेनजी समूहले विरोध तथा प्रदर्शन गरेको छ ।
बस्नेत आज कैलालीको धनगढीमा पुग्दा त्यहाँ पनि उनका विरुद्ध विरोध प्रदर्शन भयो । जेनजी युवाहरूले बुधबार बिहान धनगढी बजारमा प्लाकार्ड लिएर विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि, बारा जिल्लाको सिमरा विमानस्थलमा महेश बस्नेत प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जाने भएपछि जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरी विरोध प्रदर्शन गरेका थिए।

प्रहरी र प्रदर्शनकारीहरूबीच झडपसमेत भएको थियो। सो प्रदर्शनले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो भने विमानस्थल बन्द गर्न परेपछि उनी कार्यक्रममा नै सहभागी हुन पाएनन् ।

विराटनगर र सुनसरीमा पनि उनी विरुद्ध विरोध प्रदर्शन भएको थियो । ७ मंसिरमा इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा बस्नेत चढेको गाडीमा दुई जेनजी युवाले रातो रङ भरिएको बेलुन प्रहार गरेका थिए ।

मंगलबार सुर्खेतमा पनि केही युवाले बस्नेत सहभागी कार्यक्रमलाई लक्षित गर्दै विरोध प्रदर्शन गरेका थिए ।

२३ र २४ को जेनजी आन्दोलनपछि एमाले नेतृत्वको सरकार हटेको थियो । त्यसयता बस्नेत जेनजी युवा प्रति आक्रामक बन्दै आएका छन् भने जेनजी समूह पनि बस्नेतप्रति रुष्ट देखिएको हो ।

बस्नेतले भने, यस्ता प्रदर्शनले आफूहरू विचलित नहुने बताएका छन् र पार्टीका आन्तरिक द्वन्द्व र विरोधका बाबजुद एमालेले आफ्नो कार्यक्रम अगाडि बढाउने बताउँदै आएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।