काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम विगत ६ महिनादेखि कार्यबाहकको रुपमा चल्दै आएको छ ।
सरकारले गत जेठ २८ गतेबाट सबिना मास्केलाई कामचलाउ (कामु) प्रबन्ध निर्देशकको जिम्मा दिएको थियो । मन्त्रीस्तरीय निर्णयबाट कामु प्रबन्ध निर्देशकको जिम्मा पाएपनि उनको कार्य क्षमता तथा समन्वय अभावका कारण कर्मचारीले भने हैरानी पाएको गुनासो गरेका छन् ।
एक उच्च तहका कर्मचारीले काम चलाउ प्रबन्ध निर्देशक मास्केले समन्वय नै गर्न नसकेको बताए । ‘उहाँ (मास्के) को समन्वय नै भएन, काम गर्ने र गराउने शैली त झनै छैन, मिलिटरी जस्तै स्वभाव छ, अरुको कुरै सुन्नुहुन्न ।’ उनले नाम नबताउने शर्तमा भने ।
अर्का एक कर्मचारीको गुनासो पनि त्यस्तै रहेको छ । उनले त कामु मास्के सँधै झैं तनाबमा देखिने गरेको र कतिपय कुरामा समन्वय गर्न खोज्दा झर्कने गरेको समेत बताए ।
‘उहाँको पारिवारिक कारण हो वा स्वभाव नै त्यस्तो हो थाहा भएन, तर जतिबेला पनि तनाबमा देखिनु हुन्छ, केही विषयमा छलफल गर्न खोज्यो भने झर्कने तथा चिढिने बानी छ, हामी त हैरान भइसक्यौं ।’ ती कर्मचारीले भने ।
उनी २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्तिमार्फत जागिर प्रवेश गरेकी थिइन् । चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी उनको नेतृत्वदायी भूमिकामाथि भने प्रश्न उठेको हो ।
नेतृत्वदायी भूमिका अभावका कारण टेलिकममा नीतिगत, प्रशासनिक तथा आर्थिक कार्यमा पनि असर परेको छ ।
अहिले टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रिया विवादित छ । बिलिङ प्रणालीकै कारण फोन तथा मोबाइलको सेवामा समेत असर परेको छ भने बेलाबखत रिचार्जमा समस्या आउने तथा सिस्टम डाउन हुनेसम्मको समस्या हुने गरेको छ ।
सञ्चारकर्मीले उनीसँग प्रतिक्रिया लिन खोज्दा कर्मचारीले भने जस्तै उनको शैली असामान्य जस्तै रहेको पाइयो । टेलिकमको कुनै पनि समस्या नरहेको दाबी गर्ने कार्यबाहक प्रबन्ध निर्देशक मास्के यस्ता गुनासो भए १९७ मा गुनासो दर्ता गर्नुपर्ने बताउँछिन् ।
बिलिङ प्रणाली खरिद प्रक्रियाका विषयमा मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयले छानबिन समिति गठन गरेपनि बिलिङ प्रणाली खरिद प्रक्रियाको विषय मन्त्रालयले नरोकेको बताइन् ।
‘यो विषय टेलिकमकै अधिकारको क्षेत्र हो । स्वायत्त निकाय भएकाले बिलिङ प्रणाली खरिद प्रक्रिया के गर्ने भन्ने विषय टेलिकमले नै गर्ने हो ।’ उनले भनिन्, ‘यस्ता विषय बोर्डको पनि विषय हैन, कार्यकारी बडीले नै गर्ने विषय हो ।’








