गुमेको शाख फर्काउँदै एनआईसी बैंकका सिइओ शाक्य: दिगो यात्रा, रणनीतिक योजना

काठमाडौं । एनआईसी एशिया बैंकले व्यवसायिक मोडालिटीमा व्यापक परिवर्तन गर्दै आफूलाई दीर्घकालीन रूपमा अझ सबल र दिगो बनाउने कदम अघि बढाएको छ।

हालसम्म एसएमई र रिटेल बैंकिङलाई मुख्य व्यवसाय बनाउँदै आएको
प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यकाे नेतृत्वकाे बैंकले अब कर्पोरेट बैंकिङतर्फ पनि आक्रामक रूपमा विस्तार गर्ने रणनीति लिएको छ।

बैंकले कर्जा पोर्टफोलियो विविधिकरण गर्ने क्रममा करिब ८० अर्ब रुपैयाँ बराबरको बजार रहेको गोल्ड लोन जस्ता नयाँ उत्पादन अघि सारेको छ । जसबाट बजारको उल्लेखनीय हिस्सा ओगट्ने लक्ष्य राखिएको छ। यसले जोखिम व्यवस्थापन सन्तुलित राख्दै आम्दानीका नयाँ स्रोत थप गर्ने अपेक्षा गरिएको छ।

ग्राहक केन्द्रित सेवा सुधार बैंकको अर्को प्राथमिकता बनेको छ। विगतमा कर्जा असुलीका क्रममा देखिने आक्रामक अभ्यासलाई परिमार्जन गर्दै अब सेवा, संवाद र विश्वासमा आधारित रिकोभरी नीति लागू गरिएको बैंकले जनाएको छ। यसका लागि आन्तरिक प्रक्रियामा व्यापक सुधार अभियान सञ्चालन भइरहेको छ।

व्यवसाय विस्तारसँगै पूँजीमा पर्न सक्ने दबाबलाई व्यवस्थापन गर्न बैंकले २:१ को अनुपातमा राइट सेयर तथा ५ अर्ब रुपैयाँको पर्पेचुअल प्रिफरेन्स सेयर जारी गर्ने तयारी गरेको छ। यसबाट करिब ७.५ अर्ब रुपैयाँ बराबरको पूँजी थप हुने अपेक्षा गरिएको छ । जसले पूँजी पर्याप्तता अझ मजबुत बनाउनेछ।

खर्च घटाउने रणनीति अन्तर्गत नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले काठमाडौं महानगरपालिकाभित्रका शाखा मर्जर गर्दैछ। ६ महानगरपालिकाभित्र ७९ शाखा रहेकाेमा ४४ शाखा घटाएर ३५ मा सीमित गर्ने बैंककाे योजना रहेको छ। साथै डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्ने रणनीति अनुसार अहिले करिब ९० प्रतिशत पुगेको डिजिटल कारोबारलाई ९५ प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिइएको छ। आन्तरिक कार्यप्रणालीलाई पनि पूर्ण डिजिटल बनाउने काम अघि बढाइएको छ।

बैंकले पाँच वर्षे दीर्घकालीन रणनीतिक योजना तयार गरी त्यसैअनुसार काम गरिरहेको जनाएको छ। व्यवस्थापनका अनुसार परिवर्तन एकै रातमा सम्भव नहुने भएकाले दिगोपन र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राखेर काम भइरहेको छ । जसको प्रभाव आगामी दुई वर्षभित्र स्पष्ट देखिने विश्वास लिइएको छ।

पछिल्लो प्रकाशित वित्तीय विवरणअनुसार बैंकको निक्षेप संकलन, कर्जा विस्तार, सञ्चालन आम्दानी र जोखिम व्यवस्थापन सूचकहरू नियामक मापदण्डभित्र सन्तुलित अवस्थामा रहेका छन्। पूँजी पर्याप्तता अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि कायम रहनु, खराब कर्जा नियन्त्रणमा रहनु र सञ्चालन क्षमता सुधार हुँदै जानु बैंकको सबल पक्षका रूपमा देखिन्छ।

बैंकिङलाई दीर्घकालीन व्यवसायका रूपमा लिँदै जोखिम व्यवस्थापन, कर्मचारी क्षमता अभिवृद्धि र निक्षेपकर्ताको निक्षेप सुरक्षालाई प्राथमिकता दिइएको बैंकको भनाइ छ। सक्षम व्यवस्थापन टिम र स्पष्ट रणनीतिका कारण एन आई सी एशिया बैंकले आगामी दुई वर्षमा उल्लेखनीय रूपान्तरण ल्याउने प्रतिबद्धताका साथ अघि बढिरहेको जनाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।