भरतपुर २१ जेठ
चितवनस्थित भरतपुर महानगरपालिकाको १९ वडाको मतगणनाको क्रममा मत च्यात्नेमा माओवादी प्रतिनिधिका साथै एमालेका प्रतिनिधि र समर्थक समेत रहेको खुलेको छ ।
माओवादी प्रतिनिधिले ५ वटा मत च्यातेको र त्यसलगत्तै एमाले प्रतिनिधिले ८५ वटा मत च्यातेको खुल्न आएको हो ।
मतगणनका क्रममा प्रत्यक्षदर्शी समेत रहेका दिपक थापाले विभिन्न मिडियालाई दिएको अन्तरवार्ता र निर्वाचन आयोगको गठन गरेको छानबिन समितिको रिपोर्ट अनुसार एमालेले पनि ८५ वटा मत पत्र च्यातेको पुष्टि भएको हो ।
मतपत्र च्यातिएसँगै नागरिकन्यू डटकमले एसपी थापासँग गरेको कुराकानीमा थापाले आफू र एक डीएसपीसहित ३३ प्रहरी त्यहीँ रहेको र चार पाँचवटाको हाराहारीमा मतपत्रहरु च्यातिएको अवस्था रहेको बताएका थिए । नेकपा एमालेले संसदमा समेत ६ वटा मतपत्र च्यातिएको भनेर उल्लेख गरेको थियो ।
अन्तरवार्तामा विशेषण प्रयोग गर्दै माओवादी प्रतिनिधिलाई बादरको संज्ञा दिएका थापाले भनेका थिए, ‘विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मतपत्र समात्न गए । चार पाँचवटा जति च्याते पनि। उनी उफ्रेको देख्नेवित्तिकै म तत्काल त्यता बढे। उनलाई समाइयो। त्यसपछि थप व्यक्ति पनि समातिए। उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन्। उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन्।’
![]() |
घटनालगत्तै नागरिकन्यूजमा छापिएको एसपी थापाको अन्तरवार्तामा आधारित भनाई |
आफू र डिएसपीसहित ३३ प्रहरी घटना भएको अवस्थामा त्यहीँ रहेको अझ, मतपत्र समातेको समेत देखेको र ४/५ वटा मतपत्र च्यातिएको अवस्थामा मतपत्र च्यात्नेलाई समातिएको भनेर एसपी थापाले दाबी गरेपनि निर्वाचन आयोगद्धारा गठित समितिले पछि च्यातिएको मतपत्र गन्दा ९० वटा मतपत्र च्यातिएको फेला पारेको थियो ।
सुरक्षाका लागि खटिएका जिल्ला प्रहरी प्रमुख एपी थापाले ४/५ मतपत्र च्यातिएको भन्ने तर गन्दा ९० वटा फेला पारेपछि बाँकी ८५ मत कसले च्यात्यो भनेर अहिले चर्चाको विषय समेत भएको छ । तर, मुख्य मिडियाले यो विषयालाई ढाकछोप समेत गर्ने गरेका छन् ।
मतगणनास्थल स्रोतका अनुसार बाँकी ८५ वटा मतपत्र भने एमालेले च्यातेका थिए । एपी थापाले दुई माओवादी प्रतिनिधिलाई समाते सँगै निर्वाचन अधिकृतले मतपत्र जोगाउन खोजेका थिए । प्रहरीले माओवादी प्रतिनिधिलाई समातेर बाहिर निकालेसँगै एमाले समर्थकले छानी छानी मतपत्र च्यातेका थिए । हुलदंगाकै क्रममा निर्वाचन अधिकृतकै अगाडी बाँकी ८५ वटा मतपत्र च्यातिएको थियो । पुनः मतगणना हुने अनुमानका साथ एमाले प्रतिनिधिले माओवादी र कांग्रेसलाई आएको भोट छानी छानी च्यातेको र केही एमालेको पनि परेको स्रोत दाबी गर्छ ।
लगत्तै प्रहरीले एमालेका एक जनालाई पक्राउ गरेर भोलिपल्ट बिहान छाडि दिएको थियो ।
भरतपुरमा निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय समेत गरेको छ । अब निर्वाचन अधिकृतले निर्वाचन मिति तोकेपछि १९ नम्बर वडाको मतदान हुनेछ । एमालेले पुनःमत गणनाको माग गर्दै संसद समेत अवरोध गरेपनि मतपत्र च्यात्नेमा भने आफ्नै कार्यकर्ता समेत रहेको खुल्न आएको हो ।