काठमाडौं २१ जेठ । नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मुलुकको ४० औँ प्रधानमन्त्री बन्ने निश्चित जस्तै छ । संसदीय प्रक्रिया अन्तरगत सदन खुलेमा व्यवस्थापिका संसद भवनमा हुने प्रधानमन्त्रीको पदको निर्वाचनमार्फत बहुमतिय प्रक्रियाबाट उनी प्रधानमन्त्री चयन हुनेछन् ।
उनी यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका छन् । 
संसदमा पहिलो ठूलो दल नेपाली काँग्रेसले सदनमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र लगायत साना दलको साथ र सहयोगमा प्रधामन्त्री पदको नेतृत्व गर्ने भएको छ । यसअघि गत साउन १९ गते काँग्रेसलगायत दलको साथ र सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, नेकपा संयुक्त सहित अन्य साना दलका ३१० सांसदको समर्थनमा सभापति देउवाले शनिबार
 प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका थिए । 
संसद् सचिवालयले शनिबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म प्रधानमन्त्री चयनका लागि उम्मेदवारीको सूचना दिन समय निर्धारण गरेको थियो सो क्रममा देउवाको मात्र उम्मेदवारी परेको छ ।  
सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् भने समर्थकमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्का र नेकपा संयुक्तका नेता जयदेव जोशी रहेका छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।