अब ग्यास लुकाएको सुचना दिनेलाई पुरस्कार

काठमाडौँ । खाना पकाउने ग्यास लुकाएको सुचना दिनेलाई सरकारले पुरस्कार दिने घोषणा गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाना पकाउने एलपी ग्यासको सिलिण्डर लुकाउनेलाई कारवाही गर्ने चेतावनी दिँदै त्यस्तो सुचना दिनेलाई पनि पुरस्कार दिने घोषणा गरेको हो ।

बजारमा ग्यासको आपूर्तिमा समस्या नरहेको जनाउँदै मन्त्रालयले कहिँकतै कसैले पनि ग्यास लुकाएर कृतिम अभाव सिर्जना गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।

त्यस्तै, मन्त्रालयले ग्यास लुकाउने, कृतिम अभाव देखाउने र कालोबजारी गर्ने व्यापारी वा डिलरको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताएका हुन् ।

हाल नेपाल आयल निगमले सामान्य अवस्था भन्दा बढी ग्यास आयात र वितरण गरिरहे पनि आधा सिलिण्डरको साटो भरी सिलिण्डर वितरण गर्न थालेपछी एकैपटक माग बढ्दा समस्या आएको सुवेदीको भनाई छ । उनले पछिल्लो समय निगमले दैनिक एक लाख ३२ हजार सिलिण्डर ग्यास बजारमा पठाइरहेको बताएका छन् ।

सुवेदीका अनुसार हाल देखिएको ग्यास अभावको समस्या समाधान गर्न सिलिण्डरको दैनिक विवरण संकलन गर्न सुरु गरिएको र दीर्घकालीन रुपमा जिआइएस म्याप र क्युआर प्रणाली लागू गरी ग्यास सिलिण्डरको स्टक र आवागमनको निगरानी गर्ने तयारी अघि बढाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।