विश्व बैंकले नेपालको आर्थिक वृद्धि ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण जिरो दशमलमा झरेको आर्थिक वृद्धि यो वर्ष २३ वर्ष यताकै उच्च दरमा पुगेको हो ।
विद्युतको उपलब्धता तथा भूकम्प पछिका पुन निमार्णमा भएको ठूलो लगानी तथा मनसुनमा आएको सुधारका कारण २३ बर्ष यताकै उच्च दरको आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ ।
विश्व बैंकले सन २०१७ मा नेपालमा धान उत्पादन दश लाख टनले बढ्ने अनुमान गरेको छ । सन २०१६ मा ४२ लाख टन धान उत्पादन भएकोमा सन २०१७ मा ५२ लाख टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ ।
भूकम्पमा परेका पाँच लाख घरधनीले घर पून निमार्णका लागि तीन किस्तामा पाउने रकममध्ये दुई किस्ताको रकम पाईसकेको र लोडसेडिङको अन्त्य, भूकम्पबाट क्षति भएका सय मेगावाट क्षमताका जलविद्युत आयोजनाहरु समेत संचालनमा आएकाले र पर्यटक आगमनमा भएको सुधारले आर्थिक वृद्धि उकास्न मदत पुग्ने विश्व बैकको ठहर छ ।
विश्व बैंकले आगामी दुई आर्थिक बर्षहरुमा पनि नेपालको आर्थिक वृद्धि ५ प्रतिशतकै हाराहारीमा रहने अनुमान गरेको छ । त्यस्तै सन २०१७ मा मुद्रास्फिती राष्ट्र बैंकले अनुमान गरेको ७.५ प्रतिशत भन्दा तल नै रहने विश्व बैंकको प्रक्षेपण छ ।






