काठमाडौं २८ वैशाख
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाताले एजेण्डा र विचारलाई रोजेमा कांग्रेस एमालेलाई उछिन्न सक्ने दाबी गरेको छ ।
आफ्नो पार्टीको नेतृत्वमा १६ घण्टाको लोडसेडिङ शुन्यमा झार्न सफल भएको, १० प्रतिशत माथिको मूल्यवृद्धि साढे तीन प्रतिशतमा झारेको, अघिल्लो वर्ष शुन्य दशमलबमा रहेको आर्थिक वृद्धिदर नेपालको इतिहासमा नै पहिलो पटक ७ प्रतिशत पुर्याउन सफल भएको, बन्द रहेका सरकारी उद्योग कलकारखना तथा संस्थानहरु खुलाएको, राष्ट्रिय गौरवका आयोजना अघि बढाएको तथा स्थानीय तहको एजेण्डा समेत आफ्नै पार्टीको भएकाले जनताले यी कुरा बुझेर मतदाताले भोट हाले कांग्रेस एमाले भन्दा बढी संख्यामा जित्न सकिने पार्टी हेडक्वार्टर सदस्य समेत रहेका चुनाव प्रचार प्रसार आयोजक समिति सदस्य देव गुरुङ बताउँछन् ।
मतदाताले विचार र एजेण्डालाई भुलेर लोभ लाचर तथा पैसा र प्रलोभनमा परेको खण्डमा भने धेरै जित्न नसकिने उनी बताउँछन् । ‘जनताले एजेण्डा रोजे भने अधिकांश ठाउँमा माओवादी केन्द्रले जित्ने निश्चित छ, तर संसदीय व्यवस्थामा सबै विचार र एजेण्डाले मात्र काम गर्छ भन्न सकिन्न, पद पैसा, लोभ लालच हाबी भयो भने नजित्न नि सकिन्छ, उनले भने ।
काठमाडौं महानगरपालिकामा माओवादीबाट प्रमुख बनेका सर्वत्तम डंगोल घरदैलोमा जाँदा मतदाताबाट लोडसेडिङ हटाएकोमा धन्यवादसँगै भोट दिने विश्वास दिलाएको बताउँछन् । ‘मतदाताहरु उत्साहित देखेको छु, मेयरका उम्मेदवार डंगोलले भने, ‘लोडसेडिङ अन्त्य गर्नुभयो, तपाईहरुलाई भोट नदिएर अरुलाई दिने कुरो हुन्न भनेर विश्वास दिलाएका छन् ।’
Comments








