काठमाडौं २० वैशाख पुरानो संरचना भंग भएसँगै ७ सय ४४ वा स्थानीय तह बने । त्यसमा पनि देशभरबाट चार वटा महानगरपालिका बनेका छन् ।

आसन्न ३१ वैशाखको निर्वाचनका लागि प्रमुख दलबाट चार महानगरपालिका मध्ये एक जना मात्र मेयरको उम्मेदवार बनेकी छिन् रेणु दाहाल ।
प्रधानमन्त्री पुत्री समेत रहेकी रेणु दाहाल भरतपुर महानगरपालिकाबाट मेयरको उम्मेदवारी पाउने प्रमुख चार राजनीतिक दलकै एक्ली मेयरकी महिला उम्मेदवार हुन् ।
पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत मंगलबार भएको मनोनयनमा अधिकांश स्थानमा महिलाको उम्मेदवारी उपप्रमुखमै सीमित देखिए । त्यसमा पनि ठूला दलले काठमाडौं ललितपुर, पोखरा महानगरपालिको मेयरमा महिलालाई स्थान दिएनन् । भरतपुरमा भने माओवादी केन्द्रको तर्फबाट दाहाल मेयरको उम्मेदवार बनेकी हुन् ।

संविधानमा प्रमुख तथा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने प्रावधान भए पनि कतिपय दलमा तालमेलका क्रममा दुवै पदमा महिला उम्मेदवारलाई पाखा लगाइएको समेत भेटिएको छ ।

देशका चार महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरमध्ये माओवादी केन्द्रको एक स्थानबाहेक ठूला दलले प्रमुखमा महिलालाई स्थान दिएका छैनन् । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले राजुराज जोशीलाई मेयर बनाएको छ भने हरिप्रभा खड्गीलाई उपमेयर बनाएको छ । नेकपा एमालेले राप्रपासँग तालमेल गर्दै मेयर उपमेयर कुनैमा पनि महिलालाई उठाएको छैन ।

ठूला दलले प्रमुखमा महिलालाई स्थान नदिए पनि विवेकशील पार्टीले भने रञ्जु दर्शनालाई मेयर र जनिशा भट्टराईलाई उपमेयर बनाएको छ । यस्तै, साझा पार्टीले किशोर थापालाई मेयर र निरूपमा यादवलाई उपमेयर उठाएको छ । यसैगरी, नयाँ शक्तिबाट पवित्र बज्राचार्य मेयर र सविना अर्याल उपमेयरमा उठेका छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा पनि प्रमुख दलले महिलालाई अगाडि बढाएनन् । प्रमुख दलले महिलालाई दोस्रोमा नै सीमित गरेका छन् ।

पोखरा महानगरपालिकामा पनि प्रमुख दलले मेयरमा महिलालाई स्थान दिएका छैनन् । चौथो ठूलो दल राप्रपाले पोखराको मेयरमा हिरा गुरुङलाई उठाएको छ ।

प्रमुख तीन दलमध्ये नेपाली कांग्रेस र एमालेको तुलनामा माओवादी केन्द्रले केही बढी स्थानमा महिलालाई प्रमुख पदमा अघि सारेको छ । कांग्रेसले रसुवाको कालिका गाउँपालिकामा रीता अधिकारी, तनहुँको भानु नगरपालिकामा भगवती न्यौपाने, गोरखा सिरसचोक गण्डकी गाउँपालिकामा बिमला पुलामी मगरलाई प्रमुखमा उठाएको छ ।

नेकपा एमालेले नुवाकोटको सूर्यगढी गाउँपालिकामा बिन्दा ढुंगाना, रसुवाको कालिका गाउँपालिकामा सीता अधिकारी, बाग्लुङको तमानखोला गाउँपालिकामा दिलकुमारी छन्त्याल, तनहुँको भानु नगरपालिकामा भगवती न्यौपाने, नवलपुरको कावासोती नगरपालिकामा चन्द्रा पुन, स्याङ्जाको पुतलीबजार नगरपालिकामा सीमा क्षत्री, गोरखाको चुम्नुब्री गाउँपालिकामा सूर्यकुमारी गुरुङ, हुम्लाको सर्केगाड गाउँपालिकामा ज्ञानी उल, कालिकोटको महावै नगरपालिकामा दानकला सिंहलाई उम्मेदवार बनाएको छ ।

काठमाडौंको टोखामा माओवादीले कल्पना शर्मा, मध्यपुर थिमीमा सावित्री पाण्डे, धादिङ निलकण्ठ नपामा शोभा डंगोल, काभ्रे मण्डन देउपुरमा रीता ढकाल, धुलिखेलमा कविता लामा, भुम्लुमा अनिता गुरुङ, कमलामाईमा सावित्रा पाण्डे, कास्की रूपा गाउँपालिकामा निर्मला सुवेदी, माछापुच्छे«मा प्रविता अधिकारी, सुन्दरबजार नगरपालिकामा शान्ता भुजेल, गोरखाको शहीद लखन नगरपालिकामा इन्दिरा तिवारीलाई प्रमुखमा उठाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।