काठमाडौं १६ चैत
वर्तमान सरकारमा राप्रपाबाट कमल थापालाई उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रीका रुपमा भित्र्याएसँगै प्रधानमन्त्रीपछि दोस्रो बरियतामा को हुने भन्ने विषयमा विवाद चर्केर गएको छ ।
नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्दै गृहसहित विमलेन्द्र निधिले उपप्रधान मन्त्रालय सम्हालेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबाट पनि अर्थसहित कृष्णबहादुर महरा उपप्रधान मन्त्री छन् । तर, निधि यसअघि प्रधानमन्त्रीपछि दोस्रो बरियतामा थिए । थापा सरकारमा आएपछि निधि र थापाबिच बरियता विवाद चर्किएर गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापाको बरियता विवाद सतहमै देखिएको छ ।
प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख ओनसरी घर्ती सुरुमा लाइनमा बसेकी थिइन् । त्यसपछि थापा अरु कसैलाई वास्तै नगरी लाइनमा बसे । तर निधीलाई त्यो कुरा मन नपरेपछि असन्तुष्टि जनाउँदै उनले महरालाई तानेर ल्याएर थापापछि राख्छन् । महरालाई अप्ठ्यारो लागेपछि उनले निधिलाई नै समातेर थापापछि राखेर आफू पहिला बसेकै ठाउँमा पुग्छन् । तर, निधिले पुनः तानेर उनलाई थापापछि बसाल्छन् । तानातानपछि महरा सरमराउँदै थापापछि प्रधानमन्त्रीलाई स्वागत गर्न बस्छन् भने थापाको रिसले निधी महरापछि बस्छन् । यो तमासा विमानस्थलमा पुगेका अरु सबैले देख्ने त भए नै, सभामुख घर्तीले पनि फर्की फर्की हेरेकी थिइन् ।
घटना यतिमै सकिदैन, प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेपछि निधि विमानस्थलको अतिविशिष्ट कक्षसम्म पुगे र पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसँग बस्दै नबसी निस्किए तर पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डसँग एकातिर थापा र अर्कातिर प्रचण्ड पत्नी सिता दाहाल बसिन् ।
यसअघि चीन जाने क्रममा पनि मर्यादाक्रम विवादका कारण प्रधानमन्त्री प्रचण्डले तीन जना उपप्रधानमन्त्री मध्ये कसैलाई पनि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका थिएनन् । (सबै फोटो अन्नपूर्णपोष्टबाट साभार)
Comments