काठमाडौं १९ फागुन

सरकारले ३१ वैशाखका लागि घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर ७५ हजार युवालाई म्यादी प्रहरीमा भर्ना गर्ने भएको छ । भर्ना प्रक्रिया चाँडै नै खुलाउने तयारीमा सरकार लागेकाे छ ।
केन्द्रीय सुरक्षा समितिको मंगलबार बसेका बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३/७४ पारित गर्दै नेपाली सेनासहित सबै सुरक्षा निकायलाई निर्वाचनमा घटाउने र निर्वाचनमा खटिने २ लाख २६ हजार सुरक्षाकर्मीमा ७५ हजार म्यादी प्रहरी भर्ना गरिने निर्णय गरेको हो ।
सरकारले म्यादी प्रहरी छनोटका लागि अब छिट्टै भर्ना प्रक्रिया सुरु गर्ने जनाएको छ । गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले ७५ हजार म्यादी प्रहरी छनौट गर्ने निर्णय भएको र भर्ना प्रक्रिया अब चाँडै अगाडी बढाइने जानकारी दिए । निर्वाचन सुरक्षामा खटिने बाँकी १ लाख ५१ हजार सुरक्षाकर्मी भने जनपथ प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेना रहने भएको छन् ।
आगामी निर्वाचनमा सरकारले सुरक्षाका लागि तीन घेराको सुरक्षा प्रणाली अपनाउने भएको छ । सरकारले निर्वाचनमा नेपाली सेनालाई समेत निर्वाचनको सुरक्षामा खटाउने भएको हो । नेपाली सेना निर्वाचनमा सबैभन्दा बाहिरी घेरा अर्थात ब्याकफोर्सको रुपमा खटिने भएको छ ।
निर्वाचनको समयमा मतदान केन्द्रमा सामान्य अवस्था रहेको अवस्थामा सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात ब्याकफोर्सका रुपमा नेपाली सेना घटिने छन् । मतदान केन्द्रको अवस्था संवेदनशिल भएको अवस्थामा भने सशस्त्र प्रहरीलाई पहिलो घेरामा र अति संवेदनशिल भएको अवस्थामा नेपाली सेनालाई पहिलो घेराको जिम्मा दिने भएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।