काठमाडौं १७ फागुन
संयुक्त मधेसी मोर्चा पछिल्लाे समय विभाजनको संघारतिर बढेको छ । मोर्चाका घटकहरु मध्ये धेरैले अहिले सहमति जुट्ने विषयलाई संशोधनमार्फत पारेर गरेर जाने र सहमति जुट्न नसकेको विषयमा राजनीतिक सम्झौता गरेर पछि हल गर्ने गरी निर्वाचनमा जानुपर्नेमा जोड दिन थालेका छन् ।
मोर्चाका केही दलले भने सबै विषय चुनाव पहिला नै गर्नुपर्ने अडान राख्दा मोर्चा नै विभाजनतर्फ बढेको हो। माेर्चाभित्रकाे विवाद सतहमा अाइनसकेकाे भएपनि भित्रभित्रै चर्काे रहेकाे बताइन्छ ।
सहमति जुट्ने विषयलाई पारित गरेर संविधान तथा संघीयताको रक्षा गर्नु अहिलेको आवश्यकता भन्दै मोर्चामा सम्मिलित अधिकांश दलहरुले मोर्चाभित्रै निर्वाचनको बाटो समात्नुपर्नेमा जोड दिईरहेका छन् ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमलोपाको अध्यक्ष महन्त ठाकुर लगायत शक्ति गणतन्त्र, संविधान तथा सङ्घीयता लगायतका उपलब्धीको रक्षाका लागि भए पनि सहमति जुट्ने विषयलाई संशोधनमार्फत हल गरेर निर्वाचनमा जान तयार देखिएका छन् । तर उपेन्द्र यादवले नेतृत्व गरेको फोरमले भने त्यसमा भाँजो हालिरहेको स्रोत बताउँछ । यादव नेतृत्वको चुनाव भन्दा पहिला नै परिमार्जनसहित सिमांकन लगायतका सबै विषय टुंग्याउनुपर्ने अडान राख्दै आएको छ ।
प्रदेश सिमांकनकाे विषय अहिले टुंगाे नलाग्ने भएपछि उक्त विषयलाइ अहिले राजनितिक सहमति गरेर अघि बढ्ने र निर्वाचनपछि टुङ्ग्याउने विषयमा माेर्चाभित्र फाटाे अाएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साेमबार माेर्चाका नेतासँग बालुवाटारमा गरेकाे छलफलमा गणतन्त्र र संविधानको रक्षाका लागि भए पनि मिलेको विषयलाई पारित गरेर जान र अन्य विषयलाई मिलाउँदै पछि पारित गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् । नेपाली कांग्रेससहित मोर्चासँग छलफल आज पनि हुने बताइएको छ ।
सरकारले २ नम्बर प्रदेशमा देखिएको स्थानीय तह हल गर्न मोर्चाकै माग अनुसार प्रयास गरिरहेको छ ।
यसअघि, प्रधानमन्त्री दाहालले संसद भवनमा संयुक्त बैठक आह्वान गरेका थिए । सो छलफलमा मोर्चाका अन्य दल उपस्थित नभए पनि गच्छदार भने उपस्थित बनेका थिए । साे समयमा गच्छदारले अाफू संशाेधन पारित गरेर निर्वाचनमा जानुपर्ने पक्षमा अाफू रहेकाे बताएका थिए ।
Comments







