– निर्वाचन लोकतन्त्र र सिंगो राष्ट्रको नै परीक्षा
– मधेशलाई आफ्नो असन्तुष्टि मतपत्रबाट नै जाहेर गर्न सुझाव
काठमाडौं १७ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सफल पार्नु सरकारको मात्र नभएर लोकतन्त्र र सिंगो राष्ट्रको नै परीक्षा भएको बताएका छन् । निर्वाचनले मधेशलाई आफ्नो असन्तुष्टि मतपत्रबाट नै जाहेर गर्ने अवसर दिएको भन्दै सबैलाई सदुपयोग गर्न प्रधानमन्त्रीले आग्रह समेत गरेका छन् ।
उनले मधेसी जनताको काँधमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने खेल भईरहेको समेत बताए । ‘यो देशको परम्परागत शासक वर्गलाई गणतन्त्र मन परेको छैन, संघीयता मन परेको छैन, धर्मनिरपेक्षता मन परेको छैन, अँध्यारा कोठाहरुमा अहिले पनि यी उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको छ’ प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा मंगलबार साँझ सम्बोधन गर्दै भने, ‘हिजो मधेशमा सबैभन्दा धेरै उत्पीडन गर्ने त्यही वर्ग अहिले मधेशी जनताकै का“धमा बन्दुक राखेर परिवर्तनलाई उल्ट्याउने सपना देखिरहेको छ ।’ प्रधानमन्त्रीले दाहालले मधेसी जनतालाई आफ्नो असहमति मतबाटै जाहेर गर्न पनि आग्रह गरेका छन् ।
‘म मधेशका जनतालाई सोध्न चाहन्छु, के यो षड्यन्त्र सफल हुन दिन सकिन्छ ? के मधेशी जनता यसको हिस्सेदार बन्न सक्छन् ? म विश्वास दिलाउ“छु, संशोधनलाई सरकारले तार्किक निष्कर्षमा पु¥याउने छ, उनले भने ‘यो निर्वाचनले मधेशलाई आफ्नो असन्तोष मतपत्रबाट जाहेर गर्ने अवसर दिएको छ र यो अवसरको सदुपयोग हुनुपर्छ । मधेश केन्द्रित दलहरुले पनि अन्ततः आवेग होइन, विवेक र राष्ट्रप्रति जिम्मेवारी देखाउनेछन् भन्नेमा सरकार विश्वस्त छ ।’
प्रधानमन्त्रीले स्थानीय तह जनसंख्याकै आधारमा मिलाउने प्रयास भईरहेको भन्दै निर्वाचनलाई उत्सवका रुपमा स्वीकार्न आग्रह समेत गरेका छन् । ‘जनसंख्याका अनुपातमा मधेशमा स्थानीय तहको संख्या बढाउन सरकार गृहकार्यमा छ । मधेशी जनताको विकास र मधेशी जनताको सरकार अब मतपेटिकाका रुपमा मधेशी जनताको दैलोमा छ, प्रधानमन्त्रीले भने, ‘यो ऐतिहासिक अवसरलाई मधेशी जनताले एउटा उत्सवका रुपमा सहर्ष स्वीकार गर्नेमा सरकार पूर्णतः आशावादी छ ।’
प्रधानमन्त्री दाहालले विखण्डन र अतिवाद कुनै पनि हालतमा स्वीकार्न नसकिने चेतावनी दिँदै निर्वाचनमा एक एक मतको पनि सुरक्षा गरिने समेत बताएका छन् । ‘हामी सबैलाई थाहा छ, एकथरी तत्व मधेशको आवेगलाई भड्काएर मुलुक विखण्डन गर्ने दुष्स्वप्न देखिरहेको छ । म आज यही सम्बोधनबाट खुला रुपमा भन्न चाहन्छु, विखण्डनकारी सर्पका हरेक फणा कुल्चिइनेछ, प्रधानमन्त्रीले भने, ‘हिमाल होस्, पहाड होस् वा तराई, कुनै पनि अतिवाद सहन गरिने छैन । शान्ति सुरक्षामा कुनै कमी हुन दिइने छैन । निर्वाचनमा एक–एक मतको सुरक्षा गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षताका लागि शतप्रतिशत प्रतिवद्ध रहन म सबै सरोकारवालालाई यसै सम्बोधनबाट फेरी निर्देश गर्दछु
प्रधानमन्त्रीले अबको निर्वाचन सरकारको मात्र परीक्षा नभएर सिंगो राष्ट्रको परीक्षा भएको समेत बताएका छन् । ‘संविधान र अझ सिङ्गो लोकतन्त्रकै कार्यान्वयनमा ऐतिहासिक महत्व राख्ने अबको निर्वाचन केवल प्रधानमन्त्री वा सरकारको परीक्षा होइन । बरु, यो सबै राजनीतिक दलको, लोकतन्त्रको र सिंगो राष्ट्रकै परीक्षा हो’ उनले भने ।
झण्डै बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराई छाड्ने घोषणा गर्दा गौरवबोध भएको भन्दै बीस वर्षसम्म कसैले सोच्नसम्म हिम्मत नगरेको यो निर्वाचन गराई छाड्ने अठोट समेत गरे । ‘लोकतन्त्र कार्यान्वयनका हकमा यो एउटा ऐतिहासिक फड्को हो र यसलाई हामीले जसरी पनि सफल बनाउनु छ ।’ उनले भने मलाई विश्वास छ, निर्वाचनस“गै यो देशका राजनीतिक दलहरुबीच गाली र तालीको होइन । बरु, निर्माणको प्रतिस्पर्धा हुनेछ, विकासको प्रतिस्पर्धा हुनेछ, जनसेवाको प्रतिस्पर्धा हुनेछ ।’
प्रधानमन्त्री दाहालले केही सम्झौता गरेर भए पनि संविधान बन्ने सुनिश्चितताका पहल कदमी लिएको भन्दै अबको आवश्यकता निर्वाचन नै भएकोमा जोड दिए ।
‘कहिल्यै संविधान नबन्ने र सधैंको संक्रमणकालले अन्ततः नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र स्वाभिमान नै समाप्त हुने सम्भावना बढेपछि केही सम्झौता गरेर भए पनि संविधान बन्ने सुनिश्चितताका लागि मैले पहलकदमी लिएकै हुँ प्रधानमन्त्रीले भने, ‘अब बा“की असन्तोषहरुलाई पनि व्यवस्थापन गरी आर्थिक सम्वृद्धिबाट समाजवादको आधार तयार पार्न ढिलो भइसकेको छ । स्थानीय निकायको निर्वाचनपछि त्यसले तीव्रता पाउनेछ भन्नेमा म विश्वस्त छु ।’
प्रधानमन्त्री दाहालले यो सरकार राजनीतिक मागहरुको दबाबमा रहेको सत्य भए पनि आर्थिक विवादमा नमुछिएको समेत जनाए । ‘प्रधानमन्त्रीका रुपमा म परस्पर विरोधी राजनीतिक मागहरुको दवावमा छु । तर, विकास निर्माण र तीव्र आर्थिक प्रगतिको मेरो सङ्कल्प धर्मराएको छैन, दाहालले भने ‘सरकारबाट केही कमजोरी भएका होलान् तर गल्ती भएका छैनन् । यो सरकार आजसम्म कुनै आर्थिक विवादमा मुछिएको छैन र मुछिने पनि छैन ।’
प्रधानमन्त्रीले समय घर्कदै जा“दा निर्वाचनका लागि संविधानले दिएको समय सीमा र आफूले अपनाएको अन्तरसम्बन्धित चुनाव प्रणाली बिथोलिने डर भएको समेत जनाए । उनले भने– ‘त्यसबाट संविधान र लोकतन्त्र नै गतिरोधमा पर्ने सम्भावना बढ्यो । यसकारण सरकार संशोधन र निर्वाचनलाई एकसाथ अघि बढाउने निर्णयमा पुग्यो ।’
प्रधानमन्त्री दाहालले यो सरकार संविधान संशोधन गरेर संविधानको स्वीकार्यता फराकिलो पार्न प्रतिबद्ध रहेको समेत जनाए ।
Comments