कोरियाले अब १० हजार नेपाली लैजाने, फारम भर्न लाइन बस्न नपर्ने

काठमाडौं १७ फागुन

नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियाले आगामी वर्षका लागि नेपाली कामदार संख्याको काेटा वृद्धि गर्दै १० हजार नेपाली कामदार लैजाने भएको छ । 
 इपीएस अन्तर्गत कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको छ । जसमध्ये ६ हजार २ सय कृषिमा र ४ हजार कामदार उत्पादनमूलक क्षेत्रका लागि कोटा छुट्याइएको छ ।
यो वर्ष ३५ सय कामदार मात्रै इपीएसमा पास भएका थिए । यो वर्षका लागि इपीएसले ३१ सय कामदारको कोटा छुट्याएको थियो ।
अब इपीएसको फारम भर्न लाइन समेत बस्न नपर्ने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला हुनेछ भने यो पटकदेखि अनलाइन मार्फत लाइन नबसी नै फारम  भर्न सकिने भएकाे छ ।
चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न लागिएको छ ।
 वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको जनाएको छ । इपीएस परीक्षा भने जेठको अन्तिम सातामा हुने बताइएको छ ।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा ताेकिए बमाेजिम  आवेदन शुल्क बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारम ‘सब्मिट’ गरेर  अन्य डिटेल भर्न सकिनेछ ।  फारमका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएकाे छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।