काठमाडौं १५ फागुन । प्रदर्शनी मार्गमा अवस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचनको समयमा हरेक पटक झैं आगो लगाउन थालिएको छ । त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ता गराउने दिन शनिबार क्याम्पसको स्टोर रुममा आगजनी भयो । आगजनीबाट क्याम्पसका पुराना कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् । अनेरास्ववियु र नेविसंघबीच झडप भएको केहीबेरमा आगजनी भएको थियो । तर, आगजनीको कसैले जिम्मा लिएको छैन ।
क्याम्पस हाताभित्र विद्यार्थी परिचयपत्र भएकालाई मात्र प्रवेश गराउने सहमति भए पनि निर्वाचन बिथोल्ने उद्देश्यले गैरविद्यार्थीलाई क्याम्पस प्रशासनले प्रवेश दिएपछि लखेट्ने क्रममा झडप भएको नेविसंघका विद्यार्थी नेता उत्तम साउदले दाबी गर्छन ।
२०६५ सालमा रातारात आगो लगाइयो
यसअघिको अघिल्लो स्ववियू निर्वाचनका लागि त्रिविले २०६५ साल चैत ६ गतेका लागि मिति तोकेको थियो । सो समयममा आरआरमा स्ववियू निर्वाचनका लागि उम्मेदवारी दर्तादेखि सबै तयारी पूरा भईसकेको थियो । ५ गते बेलुकासम्म चुनावी माहौलसँगै प्रचार प्रसारले आरआर कलेज बेहुली झैं सिगारिएको थियो ।
तर, रातारात कलेजभित्र आगो लगाइयो । कलेज भित्र आगो लगाइएपछि ६ गते निर्वाचन हुन सकेन । निर्वाचन १७ गतेका लागि सारियो । सोही श्रृंखला यो निर्वाचनमा पनि दोहोरिन पुगेको छ । शनिबार दिउँसो कलेजमा आगजनी गरियाे ।
किन हुन्छ आरआरमा आगजनी ?
नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीका पूर्व आरआर इकाइ अध्यक्ष केपी खनाल चुनावमा आफ्नो पक्षको जित सुनिश्चित नभएपछि कलेजमा आगो लगाएर कलेज प्रशासनको मिलेमतोमा अनाधिकृत रुपमा आफ्ना पक्षको विद्यार्थी भर्ना गर्न आगो लगाएको नाटक गर्ने गरेको बताउँछन् ।
‘६५ सालमा ढड्डामा आगो लगाएर नाम थप्न नै राती आगो लगाएका रहेछन्, सुरूमा आगो लगाएर चुनाव भाडे पछि अनाधिकृत रूपमा कार्ड बनाएका रहेछन्, ‘२०६५ सालको स्ववियूमा सचिवका उम्मेदवार रहेका खनाल भन्छन्, ‘अहिले पनि आफ्नो जित सुनिश्चित नदेखिएपछि आगो लगाएको हुनुपर्छ ।’
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा २०६५ सालका स्ववियू अध्यक्षका उम्मेदवार रहेका सुरेन्द्र बस्नेतले एमाले निकटकाे अनेरास्ववियूतर्फ केन्द्रीत हुँदै भन्छन्, ‘६५ सालमा जसले आगो लगाए उसैले अहिले पनि आगो लगाएकाे हुनुपर्छ ।’
आरआर क्याम्पसलाई एमाले निकटको अखिलको अड्डा नै भन्ने गरेका छन् । अहिलेसम्म आरआरमा कसैले पनि जित्न सकेको छैन । प्रशासनमा समेत एमाले निकट बाहेकका व्यक्तिको इन्ट्री गाह्रो रहेको बताइन्छ ।
२०६५ साल अगावै क्रान्तिकारीले आरआरको बगैंचा आफ्नै खर्च र श्रमदानमा निर्माण गरेको थियो । विविध रचनात्मक क्रियाकलापले सो समयमा अखिल भन्दा क्रान्तिकारी चर्चामा रहेको विद्यार्थीहरु बताउँछन् । एमाले निकटकै विद्यार्थीहरुले ६ चैत्रमा २०६५ मा निर्वाचन भएको भए क्रान्तिकारीले जित्ने बताउने गरेका थिए ।
सचिवमा उम्मेदवारी दिएका खनालले त्यतिबेला आफ्नो मुख्य प्रतिस्पर्धी एमाले निकट विद्यार्थी रहेको र हार्ने देखेर आगो लगाएको दाबी गरे । ‘उनीहरुले बेलुकीको सिफ्टमा आगो लगाए, ढड्डामा नै आगो लगाएपछि पछि अनाधिकृत रुपमा भर्ना गरे, अनाधिकृत कार्ड बनाए, त्यसैको आधारमा उनीहरुले चुनाव जिते’, उनले भने ।
२०६५ सालमा दिवा र बिहानी सिफ्टको नतिजा अनुसार क्रान्तिकारी अगाडी देखिएको थियो । तर बेलुकीको सिफट्मा क्रान्तिकारी करिब ३ सय मतले पछाडी पर्यो त्यसैको आधारमा पराजय भोगेको थियो । साे समयमा बेलुकी सिफ्टकाे ढड्डामा मात्र अागजनी गरिएकाे थियाे ।
खनाल सम्झन्छन्, आफूलाई अझै सुनिश्चित नदेखेर, फर्जी धाधली गर्न आगो लगाउने षड्यन्त्र गरिदो रहेछ, अहिले पनि त्यस्तै हो जस्तो लाग्छ । उनी भन्छन्- ‘क्याम्पस प्रशासनले आफु पक्षकालाई जिताउन सहयोग गर्ने, ढड्डामा नाम परिवर्तन गर्ने, आगो लगाउने अनि अनाधिकृत नाम थप्ने यस्तो तरिकाको स्ववियू निर्वाचन काम छैन भनेर मैले त पहिला पनि भनेको हुँ, अहिले पनि त्यहीँ भन्छु ।’
Comments








