काठमाडौं १० फागुन 

पत्रकार स्मृति स्तम्भको अनावरणपछि पुष्पगुच्छा अर्पण गर्दै प्रम प्रचण्ड ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधानले सिंहदरबारको धेरै अधिकार गाउँमा पुर्याएको बताउँदै संविधान कार्यान्वयनमा जोड दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनपछि जनताले सुविधा उपभोग गर्न थालेसँगै संघीयताको महत्व बुझ्ने समेत बताएका छन् । दिवङ्गत एवम् सङ्घर्षशील पत्रकारको स्मृति र सम्मानमा सञ्चारग्राम सिनामङ्गलमा प्रेस काउन्सिल नेपालले निर्माण गरेको ‘पत्रकार स्तम्भ’ को मंगलबार अनावरणका क्रममा उनले भने- ‘निर्वाचनपछि लालपुर्जा, पासपोर्ट, नागरिकता, न्यायपालिकालगायतका सुविधा स्थानीय निकायबाटै जनताले पाउँदा बल्ल सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको के हो भन्ने महसुस गर्नेछन्’  ।
प्रचण्डले निर्वाचनको सफलताले अराजकताको अन्त्य गर्दै मुलुकलाई संविधानमा उल्लेख भएअनुरुप समाजवाद र समृद्धिको यात्रातर्फ लैजाने बताउँदै निर्वाचनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि जनताले अनुभूत गर्न थाल्ने विश्वास समेत व्यक्त गरे ।
‘प्रचण्डले स्थानीय तहको निर्वाचनको वातावरण सिर्जना गर्नका लागि विशेष भूमिका खेल्न पत्रकारलाई आग्रह समेत गरेका छन् ।
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अहिले पत्रकारिता जगत्मा उत्ताउलोपन बढी र विश्वसनीयता कम देखिएको टिप्पणी गर्दै पत्रकारको विश्वसनीयता सकियो भने के होला भन्ने सोच्न आवश्यक रहेको औल्याए ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले असल पत्रकारिता गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने विश्वासका साथ आफूहरुले ‘पत्रकार स्तम्भ’ निर्माण गरेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले ‘पत्रकार स्तम्भ’ले सञ्चारग्रामकै शोभा बढेको बताए ।
स्तम्भमा कलम र कागजका पाना प्रतीकका रुपमा राखिएको छ जसको निर्माण मूर्तिकार राजु पिठाकोटेले गर्नुभएको हो । स्तम्भमा ‘मेरो पत्रकारिता देश र जनताका लागि’ भन्ने उल्लेख छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।