काठमाडौं २ फागुन
नेकपा माओवादी महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले रोल्पालको कलेज बनाउन भारतीय दुतावास लैनचौरमा निवेदन दिनुपर्ने स्थिति आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको आलोचना गरेका छन् ।
‘रोल्पामा जन्मिएका प्रचण्ड दुई पटक प्रधानमन्त्री बने, रोल्पाकै महरा मेरा गुरु पनि हुन् अहिले अर्थमन्त्री हुनुहुन्छ, अनन्त जी पनि रोल्पामा जन्मनु भयो उहाँ पनि अर्थमन्त्री भईसक्नुभयो,’ खुल्लामन्चमा पार्टीको महाधिवेशन उदघाटन तथा जनयुद्ध दिवसमा आयोजित सभामा भने, ‘तर रोल्पाको कलेज बनाउन भारतीय दुतावास लैनचौरमा २ करोडका लागि निवदेन हाल्नुपर्ने स्थिति आयो तिनीहरुलाई लाज लाग्दैन ?’
विप्लवले संघीयताको नाममा पहाडी र मधेसीबिच लडाउने खेल भईरहेको समेत बताएका छन् ।
विप्लवले संघीयता भयो भने जनजातीको अधिकार प्राप्त हुन्छ भनेर भ्रम छरिरहेको समेत आरोप लगाएका छन् । ‘संघीयता भयो भने जनजातिको अधिकार प्राप्त हुन्न, विप्लवले भने, ‘भ्रम छरिएको छ । भारतका मधेसीले संघीयता आउँदैमा खै अधिकार पाएको ? भारतको जनजातीले अधिकार पाएको छ ? अमेरिकाका जनजातिले अधिकार पाएको छ ? यो अधिकार खोस्ने चाल हो ।’
संघीयताको कुरा झुक्याएर फुटाएर राज गर्ने खेल भईरहेको भन्दै चन्दले भ्रममा नपर्न समेत सचेत गराएका थिए । ‘संघीयता हुन्छ ठिकै छ, तर यो भ्रममा पर्न हुन्न’ विप्लवले भने, ‘मधेसका जमिन्दारहरुबाट जनता ठग्ने खेल भईरहेको छ अनि पहाडी र मधेसी लडाएर जनता ठग्ने खेल हो यो ।’
विप्लवले नेपालको मुल समस्या नै संसदीय व्यवस्था रहेको भन्दै यसको विकल्प खोज्नुपर्ने समेत बताएका छन् । ‘उद्योगी व्यापारी, नीजि क्षेत्र, स्वीकार्न सकिने विदेशी सहयोग सबैसँग शान्तिपूर्ण तरिकाले हातेमालो गर्न तयार छौं, तर संसदीय व्यवस्थाबाट देशको भविष्य छैन, संसदीय व्यवस्थाको विकल्प खोजौं, वैज्ञानिक समाजवाद नै उत्तम विकल्प हुनसक्छ,’ उनले भने ।
विप्लवले द्धन्द्धकालिन घटनाका मुद्धा हल गर्न र सुकुम्बासी समस्या समाधान गर्न प्रधानमन्त्री दाहालले चासो नदेखाएको भन्दै आक्रोश समेत पोखे । ‘प्रचण्डको एक सिग्नेचरले सुकुम्बासी समस्या समाधान हुन्छ तर उनी सही गर्न तयार छैनन्,’ चन्दले भने ।