काठमाडौं १२ माघ

सत्तारुढ कांग्रेस माओवादी र मोर्चाको मंगलबार बसेको बैठक ।

स्थानीय निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्रीलाई संयुक्त मधेसी मोर्चा बाधक बनेको छ ।
यसअघि संविधान संशोधन विधेयक टेबल भएपछि निर्वाचन मिति घोषणा गरेर संशोधन विधेयक पनि सँगै अगाडी बढाउन राजी बनेको मोर्चाले अहिले आएर संशोधन विधेकय पहिला पारित हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारोमा पारिरहेका छन् । विधेयक टेबल भएपनि निर्वाचन मिति घोषणा गर्न सहमत बनेपछि सरकारले प्रतिपक्षी एमालेको विरोधकै अवस्थामा पनि संशोधन विधेयक टेबल गरेको थियो ।
मोर्चाले विधेयक पास भएपनि नभए पनि निर्वाचन स्वीकार्ने बताउँदै आएपनि अहिले आएर आफ्ना पुराना एजेण्डा पुनः ब्युताउन समेत थालेका छन् ।
प्रधानमन्त्रीको आह्वानमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र मधेशी मोर्चाका शीर्ष नेताहरु सम्मिलित मंगलबार बेलुका बसेको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा गरेर जाने प्रस्ताव गरेकोमा मोर्चाले संविधान संशोधनको विषय पहिला हुनुपर्ने अडान राखेको थियो ।
बैठकमा प्रधानमन्त्रीले राजनीतिक निकासका लागि स्थानीय तहको निर्वाचनमा जानेबारे नेताहरुको धारणा मागेका थिए । बैठकले सत्ता पक्ष, प्रतिपक्षी दल र मधेश केन्द्रित दलहरुबीच सहमति जुटाएरै संविधान संशोधन, स्थानीय तह पूनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनको मिति घोषणाबारे टुङ्गोमा पुग्ने निर्णय गरेपनि मिति तोक्ने विषयमा ठोस निर्णय गर्न सकेन ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’, मातृका यादव, कांग्रेस नेता रामशरण महत, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, नेताहरु राजेन्द्र महतो, अनिलकुमार झा, हृदयेश त्रिपाठी लगायत सहभागी रहेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।