काठमाडौँ, २४ पुस । सरकारले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक प्रतिपक्षी नेकपा एमालेको विरोधकै बाबजुत टेबुल गरेको छ ।
सरकारले व्यवस्थापिका–संसद्को आइतबारको दोस्रो बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको हो । 
नेकपा एमालेलगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गरेका थिए । 
त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गरेको संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । 
सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदनसमक्ष विरोधको सूचना दिएको स्पष्ट गर्दै त्यसको खारेजीको पक्षमा आफू रहेको बताए । 
त्यस्तै सांसद केसीले पनि विरोधको सूचना फिर्ता नमानेपछि बैठकले उनीहरुको प्रस्तावलार्य बहुमतले अस्वीकृत गरेको थियो । 
बैठकपछि, सत्तारुढ दलले अब संशोधन विधेयक छलफल र परिमार्जनसँगै पारित गराउने बताएका छन् भने विपक्षी दलले संसदमा अवरोध जारी रहने र पारित गर्न नदिने बताएका छन् ।
विधेयक प्रस्तुत गर्ने क्रममा एमाले लगायत प्रतिपक्ष दलले उठेर विरोध जनाएपनि रोष्ट्रम घेराउ भने गरेनन् । फेस सेभिङका लागि प्रतिपक्षीले उठेर विरोध गरेपनि टेबुल गर्न भने दिइएको बताइन्छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।