काठमाडौं १३ पुस
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले जारी राजनीतिक गत्यारोध अन्त्य गर्न स्थानीय निर्वाचन घोषणा गरेर अघि बढ्ने रणनीति लिएको छ । माओवादी केन्द्रले संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई पनि अगाडी बढाउने, निर्वाचन कानुनलाई पनि अघि बढाउने र निर्वाचन मिति पनि घोषणा गरेर अघि बढ्ने नीति अवलम्बन गरेको हो । 
संशोधन प्रक्रिया अघि बढेमा मोर्चा पनि निर्वाचनमा आउने र कांग्रेस एमाले निर्वाचनका लागि तयारी अवस्थामा रहेकाले एक चरण छलफल गरेर चाँडै निर्वाचन मिति घोषणा गर्नेमा माओवादी पुगेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख पहिलो वा ढिलामा दोस्रो हप्ता निर्वाचन मिति तोकिने जानकारी दिँदै आएका थिए । मितिका विषयमा अहिले नै टुंगो नलागेपनि जेठ पहिलो हप्ता भन्दा उता भने नहुने बताइएको छ । मंगलबार बालुटावारमा बसेको कांग्रेस माओवादी र मोर्चाको बैठकमा कांग्रेसले बैशाख जेठमा स्थानीय निर्वाचन मिति तोक्न आग्रह गरेको थियो ।

मोर्चा मनाउन साढे चार घण्टा छलफल
सरकारले मोर्चाको सहमतिमै स्थानीय निर्वाचन मिति घोषणाका लागि मंगलबार साँझ ४ घण्टा छलफल गरेको थियो । माओवादी केन्द्र, नेपाली कांग्रेस र मोर्चाका नेता सम्मिलित छलफलमा माओवादी र कांग्रेसले अहिले स्थानीय निर्वाचन मिति घोषणा गरौं त्यसपछि संशोधन विधेयक र निर्वाचन कानुनलाई पनि सँगसँगै अघि बढाउ भनेर प्रस्ताव गरेका थिए । तर मोर्चाका नेताहरुले संशोधन विधेयक अगाडी नबढाई निर्वाचनको कुरा गर्न नसकिने अडान लिएका थिए ।
मिति चाँडै तोक्ने पक्षमा माओवादी हेडक्वार्टर बैठक
माओवादी हेडक्वार्टर बैठक बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बैठकले संविधान संशोधन सम्भव भएमा सहमतिमा नै पारित गर्ने तर सहमति नजुटे प्रक्रियागत रुपमा अघि बढाउने र निर्वाचन मिति चाँडै घोषणा गर्ने निर्णय लिएको छ । बैठकपछि प्रवक्ता पम्फा भुसालले संविधान संशोधन नगरी संविधान कार्यान्वयन नै अप्ठ्यारो पर्ने भन्दै संशोधन अघि बढाइने बताइन् ।
दलहरुका आ-आफ्नै दाउपेच
बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुको याेजनाबारे पनि बिफ्रिङ गरेका थिए । कांग्रेस संशोधन जे जस्तो भएपनि निर्वाचनमा मात्र ध्यान दिएको, एमालेले जसरी पनि विधेयक  फिर्ता हुनुपर्ने अडान राखिरहेको, मोर्चा भने संशोधन अघि बढे निर्वाचनमा भाग लिनेमा रहेको प्रचण्डले बिफ्रिङ गरेका थिए । निर्वाचन गर्ने विषयमा सबै दलहरु सहमत भएपनि संशोधन विषयमा कुरा बाझिएको छ । त्यसैले सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले अब सबै कुरा एकैसाथ अगाडी बढाउने विषयलाई अघि सारेको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले प्याकेजमै सहमति जुटाइने कुरा दोहोर्याउँदै आएका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।