भारतको नाकाबन्दीले ऊर्जाको चरम संकट परिरहेको अवस्थामा धुलिखेल नगरपालिका ८ र ९ वडाका केही स्थानीयले खेर गइरहेको ढलबाट खाना पकाउने ग्यास उत्पादन गरी प्रयोग गर्दै आएका छन् । उनीहरुले घरबाट निस्किएको फोहोरमैला र ढल प्रशोधन गरी निकालिएको ग्यास प्रयोग गर्दै आएका छन् ।
खेर गइरहेको ढल प्रशोधन गरी ग्यास निकालेर खाना पकाउन उपयोग गर्दै आएको श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कर्माचार्यले बताए । ‘दुई वडाका एक सय २० घरबाट निस्केको ढल प्रशोधन गरी पाँच घरलाई पुग्ने गरी ग्यास बितरण गरिरहेका छौं ।’, उनले थपे, ‘ऊर्जा मात्र उत्पादन गरेका छैना,ैं यो अभियानले नदीनाला, वातावरण स्वच्छ राख्नसमेत सहयोग पुगेको छ ।’ यो केन्द्र मुलुककै नमुना ऊर्जा केन्द्रका रुपमा चिनिदै आएको छ ।
कर्माचार्यले केन्द्रमा ग्यास उत्पादन गर्न चाहिने ढलको मात्रा र लागत नहुँदा प्रशोधन क्षमताभन्दा कम ग्यास उत्पादन गर्दै आएको बताए । ‘प्रतिदिन दुई सय पाँच घनमिटर ग्यास उत्पादन गर्ने क्षमता छ । तर, पछिल्लो समय बसाइसराइले जनसंख्या कम हुँदै जानु र पर्याप्त आर्थिक स्रोतसाधन नहुँदा ग्यास उत्पादनमा कमी आएको छ ।’, उनले भने ।
शौचालय र अन्य स्थानबाट निस्किएको ढललाई पाइप मार्फत संकलन गरी मन्थन गरेपछि उत्पादन भएको ग्यासले ऊर्जाको रुपमा काम गर्छ । यसबाट बाँकी रहेको लेदो कृतिम सिमसारमा पठाई नर्कटले छानेर सफा पानी निकालिनुका साथै छोक्रा खेतबारीमा मलका रुपमा प्रयोग गर्न सकिन्छ । संयुक्त राष्ट्र संघको मानव बसोवास कार्यक्रम एन्फोको आर्थिक सहयोग, बीएएसपी नेपालले बायो ग्यास रियाक्टरले डिजाइन, राप्ती रेन्यएवल इनर्जी सर्भिस प्रालिले बायोग्यास रियाक्टर निर्माण गरिदिएको थियो । धुलिखेल नगरपालिकाले केन्द्रका लागि जग्गा खरिद गरिदिएको थियो । कुल ७६ लाख ७६ हजार रुपैयाँको लागतमा कृतिम सिमसार, प्रयोगशाला ७५÷७५ घनमिटरको २ वटा रियाक्टरसहितको चार रोपनी क्षेत्रफलमा प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
शौचालयबाट निस्किएको ढलले वातावरण र नदिनाला प्रदूषित बन्दै गएपछि श्रीखण्डपुरका बासिन्दाको सक्रियतामा फोहोरलाई मोहोर बनाउने अभियान अन्तर्गत सुरु भएको प्रशोधन केन्द्र नेपालकै नमुना ऊर्जा केन्द्र रहेको स्थानीय बताृउँछन् । केन्द्रको अध्ययन अनुसन्धान र अवलोकनका लागि स्वदेश तथा विदेशका नागरिक आउने गरेको स्थानीय रवीकिरण कर्माचार्य बताउँछन् । – साभार : अन्नपूर्ण दैनिक

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।