३१ साउन । प्रदेश सीमांकन र नयाँ संविधानको मस्यौदाको विरोधमा नेकपा–माओवादी, संघीय समाजवादी फोरम नेपाल लगायत विभिन्न राजनीतिक दलको आह्वानमा गरेको नेपाल बन्दको प्रभाव देशैभर परेको छ ।
बन्दमा ठाउँ ठाउँमा तोडफोड भएको छ भने ५० भन्दा बढी बन्दकर्ता पक्राउ परेका छन् । बन्दका क्रममा काठमाडौंका बिभिन्न स्थानबाट ५३ जना पुरुष र ४ जना महिला गरी ५७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा ६१ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
बन्दका क्रममा काठमाडौंको धापासी हाईटमा बा१ख ८८४५ नम्बरको माईक्रो बसको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै एयरपोर्ट गेट अगाडी बन्दकर्ताले बा१ख ५६०२ नम्बरको बसको सिसा फुटाएको जनाइएको छ ।
यता, नेकपा माओवादीले भने जनचाहना र जनादेश विपरीत आएको प्रतिगामी मस्यौदा संविधानको खारेजी र सङ्घीय जनगणतन्त्रात्मक संविधान निर्माण गर्न जनदबाबका लागि गरिएको शान्ति पूर्ण बन्दमा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ती जनाएको छ ।
शान्तिपूर्ण बन्दका क्रममा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता बिना शर्त रिहा गर्न माओवादी प्रवक्ता पम्फा भुसालले माग गरेकी छिन् ।
Comments