साउन । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनका निकटस्थ नै टाढिएका छन् । नयाँ संविधानको मस्यौदा तयार गर्ने क्रममा अध्यक्ष प्रचण्डले ६ प्रदेशका सीमांकन टुंगो लगाएसँगै उनी लाइनका अधिकांश नेता असन्तुष्ट छन् । 

वर्षमान पुन अनन्त, जनार्दश शर्मा प्रभाकर, नन्दकिशोर पुन, गणेशमान पुनलगायत नेता नै प्रचण्डसँग टाढिएका हुन् । उनीहरूले आदिवासी, जनजाति, उत्पीडित समुदाय र क्षेत्रको पहिचान नै समाप्त पारेको आरोप लगाएका छन् । पार्टी स्थायी समिति बैठकले अध्यक्ष प्रचण्ड र नेता भट्टराईलाई आठ प्रदेशबाट ६ प्रदेशमा झर्ने गरी निर्णय गर्ने कुनै अधिकारसमेत नदिएको भन्दै उनीहरूले तत्काल निर्णय सच्याउनुपर्ने चेतावनीसमेत दिएका छन् । पार्टी महासचिव कृष्णबहादुर महरा अध्यक्षले गरेको सहमतिमा रुष्ट छन् । महरासहित पाँच सभासद्ले दलहरूबीचको सीमांकनको सहमतिमा फरक मत नै दर्ज गरेका छन् । 
पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक गिरिराजमणि पोखरेलसमेत मस्यौदामा असन्तुष्टि जनाउने लिस्टमा छन् । स्थायी समिति सदस्य लोकेन्द्र विष्ट, पोलिटब्युरो सदस्य हेमन्त प्रकाश ओली र ध्रुव पराजुलीले यसअघि नै राजीनामा दिइसकेका छन् । लेखराज भट्ट भने अध्यक्षले गरेको सहमतिविपरीत अखण्ड सुदूरपश्चिमको आन्दोलनलाई सुदूरपश्चिमा नै बसेर सघाइरहेका छन् । पार्टीको एजेन्डा नै बिर्सेको, आदिवासी जनजातिको पहिचान समाप्त पारेको, अध्यक्ष र नेता भट्टराईले विश्वासघात गरेको जस्ता पार्टीभित्रैबाट आरोप आइरहेको बेला अध्यक्ष निकट भने देशलाई अस्थिरताबाट मुक्ति दिलाउन र अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्न सम्झौता गर्नुपरेको जनाउँछन् । 
प्रचण्डनजिकका एक नेता भन्छन्, ‘भूकम्पपछि सबैले शान्ति र विकास खोजेका छन्, सम्झौता गरेर देशलाई अगाडि बढाउनुपर्ने पार्टीको मुख्य कार्यभार हो, सम्झौता गर्दा लेनदेन गर्नैपर्छ कहाँ सबै साथीहरूले भनेको जस्तो पनि हुन्छ त ?’ संविधान निर्माणको कामलाई टुंगोमा पु¥याउन अध्यक्षले सहमति गरिरहँदा उनी भने पार्टीमा एक्लिएका छन् । प्रदेश संख्या, सीमांकन तथा अन्य सहमतिमा पार्टी वरिष्ठ नेता डा. बाबुराम भट्टराईको समर्थन देखिए पनि अर्कातर्फ प्रचण्डकै विरुद्ध भट्टराई पक्षले समानान्तर कमिटी बनाउने क्रम रोकिएको छैन । भट्टराईले पार्टी सुदृढीकरण नभए नयाँ विकल्प रोज्नुपर्ने प्रशिक्षण दिँदै आएका छन् । लामो समय प्रचण्डले अध्यक्ष पद ओगटेकाले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने त्यसो नभए पार्टी विभाजन गरेर भए पनि अघि बढ्ने बाबुराम पक्षको तयारी रहेको बताइन्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।