काठमाडौं, २३ जेठ । प्रमुख चार दलबीचको सरकार परिवर्तनको चलखेलप्रति नेकपा–माओवादीले आश्चर्यचकित बनेको प्रतिक्रिया दिएको छ । महाभूकम्पपछि देशमा महाविपत्तिको बेला राष्ट्रिय समस्या समाधान गर्नुपर्ने मुख्य एजेण्डालाई नै थाती राखेर सरकार बनाउने र गिराउनेमा चार दल लागेको भन्दै नेकपा–माओवादी आश्चर्यमा परेको हो ।
माओवादीले सरकार परिवर्तन भएमा पनि टाउका मात्रै फेरबदल हुने र यो भन्दा गतिलो आउने सम्भावना नै नदेखेको भन्दै अहिलेको अवस्थामा नै सरकारमा सामेल नहुने समेत जनाएको छ । माओवादीले सरकार बनेपनि राष्ट्रिय सरकार बन्नै नसक्ने दाबी समेत गरे ।
माओवादी उपाध्यक्ष सिपी गजुरेलले अर्को सरकार बने पनि यो सरकार भन्दा भिन्न हुने नदेखिएको बताए । अर्को सरकार बन्ने बित्तिकै सहायता नओइरिने, भ्रष्टचार नगर्ने, जनताको काम गर्ने सम्भावना नदेखिएको भन्दै उनले अनुहार मात्रै फेर्ने मात्रै काम हुने भन्दै सरकार विपत्तीको सामना गर्नुपर्ने मुख्य एजेण्डामा जानुपर्नेमा जोड दिए ।
मुख्य एजेण्डालाई छायामा पारेर अर्को एजेण्डालाई प्रमुख बनाउने कसरत भएको छ माओवादी उपाध्यक्ष सिपी गजुरेलले भने यसको अर्थ सुशिल कोइरालाको सरकारले राम्रो काम गर्यो भन्ने होइन । यो त पूरै असक्षम छ, सरकार भएको अनुभूती नै दिन सकेको छैन । यो भ्रष्टचारी सरकार हो । तर अहिलेको मुख्य एजेण्डा जनतालाई आपत विपत परेको छ त्यसलाई समाधान गर्ने हो राष्ट्यि विपत्तीलाई समाधान गर्नुपर्ने हुनुपर्ने हो तर सरकारको एजेण्डा तेस्र्याएर मुख्य एजेण्डालाई ओझेलमा पार्ने काम भएका छन् ।
उपाध्यक्ष गजुरेलले जनताको लागि सरकार परिवर्तनको विषय जनताको सरोकार नै नभएको भन्दै समस्या समाधानका लागि सबै एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको औंल्याए ।
गजुरेलले अहिले राष्टिय विपत्तिको सामना गर्न प्रमुख दलहरुको संलग्नतासहित राष्टिय संयन्त्र बनाउन आवश्यक रहेको भन्दै त्यसलाई अधिकारसम्पन्न बनाएर गाविसदेखि वडासम्म नै पुर्याउनुपर्ने धारणाा राखे । विपत्तिको समाधानका लागि राजनीतिक दल, सरोकारवालाहरुलाई मिलाएर सर्वपक्षीय संयन्त्र बनाउनुपर्छ उनले भने माथिल्लो संयन्त्र सरकारले र तल्लो तहको संयन्त्र जिल्ला प्रशासनलगायत निकायले अनुगमन गर्नुपर्छ जसलाई पारदर्शी बनाएर गएमा राहत तथा पुननिर्माणको काम ठिक ठाउँमा पुग्नसक्छ ।
एक थान संविधान थमाएर केही हुन्न
उपाध्यक्ष गजुरेलले बृहत छलफल गरेर संविधान जारी गर्नुपर्ने धारणा राखेका छन् । जनता आक्रान्त बनेको मौका छोपेर जस्तो भएपनि एक थान संविधान दिने ध्याउन्नमा चार दल लागेको आरोप पनि उनले लगाए । जनता भोकाएको बेला जस्तो भएपनि संविधान जारी गरेर त्यसको प्रतिक्रियाबाट बच्नका लागि संविधान जारी गर्न खोजेको उनको आरोप छ ।
संविधान जारी गर्नु भनेको जनताका बिचमा लगेर, छलफल गरेर, जनताका रायहरु समेटेर गर्ने हो, गजुरेलले भने यस्तो विपत्तिको बेला संविधान जारी गर्नै नै होइन । अहिलेको त्रासदीको बेलामा जनताको राय नै नसमेटिई संविधान जारी गरेमा जनताले तिरस्कार गर्ने समेत जनाए ।
Comments