इच्छुक |
काठमाडौं, ११ जेठ । पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को १३ औं स्मृति दिवस भूकम्प पीडितलाई जस्तापाता बाँडेर मनाइने भएको छ ।
इच्छुकको हत्या भएको जेठ १३ का दिन भुकम्प पीडितसँगै रहेर कृष्णसेन इच्छुक प्रतिष्ठान, क्रान्तिकारी पत्रकार महासंघ तथा जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा सेन स्मृति दिवस मनाइने भएको हो ।
क्रान्तिकारी पत्रकार महासंघको राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको सोमबार बसेको बैठकले देशले महाविपत्ती झेलिरहेकाले पीडितको दुःखलाई साथ दिँदै स्मृति दिवस मनाउने निर्णय गरेको संयोजक कुमार शाहले जानकारी दिए ।
स्मृति दिवसका अवसरमा काठमाडौं दहचोक नजिकै वाँडभज्याङ्गका भूकम्प पीडितलाई डेढ लाख बराबरको जस्तापाता वितरण गरिने भएको छ । सेनकी श्रीमती तक्मा केसीले ५० हजार र कृष्णसेन इच्छुक प्रतिष्ठानले ५० हजार बराबरको जस्तापाता वाँडभज्याङ्गका २० घरपरिवारलाई वितरण गरिने भएको छ । जस्तापाता वितरण लगत्तै श्रम अभियानमा रहेको नेकपा–माओवादीको सो क्षेत्रमा खटिएको टोलीले ती स्थानमा घर टहरा निर्माण समेत गरिदिने माओवादीले जनाएको छ ।
कृष्ण सेन इच्छुक श्रमजीवीहरुको पक्षमा लड्दा लड्दा प्राण त्यागेको हुनाले यतिखेर भुकम्प पीडित श्रमजीवी जनतालाई थोरै भए पनि मलम लगाउनु नै उनको सम्झना हुने ठानेर आफूहरुले त्यस्तो निर्णय लिएको महासंघ अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले बताए ।
२०५९ सालमा प्रहरीको गिरफ्तारमा परेका सेनको महेन्द्र पुलिस क्लवभित्रै हत्या भएको थियो । उनी क्रान्तिकारी धारका पत्रकार तथा साहित्यकार थिए । उनीद्धारा रचित कविताहरु पाठ्यक्रममा समेत समावेश भएको पाइन्छ ।
Comments