माघ । ‘पोलिटिक्स इज डर्टी गेम’ अर्थात ‘राजनीति फोहोरी खेल’ भनेर त्यसै भनिएको होइन । जसका लागि दिनहुँ नेपालीले नेपालको फोहोरी राजनीति देखि नै रहेका छन् ।
अझ नेपाली राजनीतिमा पछिल्लो पटक २ अर्ब ३ करोडको चर्चा निक्कै चर्किएर गएको छ । 
के हो २ अर्ब ३ करोड ?
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीले २ देखि १० अर्ब रुपैयाँ मागेको उल्लेख गरे । उनले त्यति रकम दिए संविधानसभा खुल्ने दाबी माघ १७ गते गरेपछि यो प्रसंग चर्चामा आएको हो । एमाले केन्द्रीय कार्यालय बल्खुमा शनिबार आयोजित कार्यक्रममा ओलीले यस्तो दाबी गरेका थिए ।
प्रचण्डलाई प्रतिक्रिया दिन लाज 
ओलीले औपचारिक बैठकमा नै यस्तो आरोप लगाएपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार पत्रकार सम्मेलन गरेर यसको जवाफ फर्काए । पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले ओलीको आरोपको कडा शब्दमा खण्डन गरे । ओलीको आरोप वाहियात भएको भन्दै दाहालले त्यसको प्रतिक्रिया दिन लाज लागेको समेत उल्लेख गरे । 
कसरी आयो त प्रसंग
यसअघि गत असोज २२ गते प्रमुख दलहरुबीच सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको थियो ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति भएपछि संसद खुलेको थियो। उक्त पाँच बुदे सहमतिमा ‘सशस्त्र द्वन्द्व र लोकतान्त्रिक आन्दोलनका क्रममा मारिएका तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई प्रत्येक व्यक्तिका आधारमा नेपाल सरकारले निर्देशिका बनाई यसै आर्थिक वर्षमा रु २ लाख दुई किस्ता गरी दिने’ भनेर उल्लेख छ ।
अहिलेसम्म १४ हजार ३ सय ७५ मृतकका परिवार र १५३० जना बेपत्ता पारिएका परिवारका सदस्यले ३ लाख रुपैयाँका दरले रकम पाइसके पनि विस्तृत शान्ति सम्झौता अनुसार १० लाखमध्ये करिब सात लाख पाउन सकेका छैनन् । १० लाख पुर्‍याउने पुरानै सहमति भएपनि बिचमा रोकिएको थियो । 
एमाले अध्यक्ष शर्माले भने यसै विषयलाई बंग्याएर आरोप लगाएको एमाओवादीको भनाई छ । 
पत्रकार सम्मेलनमा एमाओवादीले निरन्तर सदन अवरोध गरेर असोज २२ गते पाँच बुँदे सहमति भएको उल्लेख गर्दै द्वन्द्वको क्रममा ज्यान गुमाएका सहिद तथा बेपत्ता परिवारका लागि दुई लाखका दरले रकम दिने सहमति पत्रमा लेखिएको स्मरण गराएका थिए । 
तर ओलीले पोलिटिक्स प्रोपोगाण्डा गरेर एमाओवादीलाई २ अर्बको आरोप लगाएपछि पत्रकार सम्मेलनमा दाहालले पनि आरोप देशको ठेकदारजस्तो भएर ओलीले बोलेको भन्दै प्रतिक्रिया दिन लाज लाग्यो भनेका थिए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।