भीष्मराज ओझा
काठमाडौँ, १५ माघ । आफ्ना फरक फरक उद्देश्यका साथ सत्तारुढ र विपक्षी दलका सभासद् गृहजिल्ला जाने क्रम बढेपछि यतिखेर सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिननका साथै संसदीय समितिका गतिविधि प्रभावित हुन पुगेका छन् । 
एकीकृत नेकपा (माओवादी)को संविधानसभा र व्यवस्थापिका–संसद्का समिति बहिष्कारको घोषणा गर्दै आफ्ना कुरा लिएर जनतामा जाने नीति र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस एवम् नेकपा (एमाले) ले संविधान निर्माणका बारेमा जनतालाई यथार्थ जानकारी गराउने निर्णय गरेपछि सभासद् जिल्ला गएका हुन् । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डलेलाई आमन्त्रण गरेर बिहीबार महत्वपूर्ण विषयमाथि छलफलका लागि बैठक बोलाए पनि बैठक गणपूरक सङ्ख्या नपुगेपछि केही ढिला सुरु भएको थियो । 
समितिमा गणपूरक सङ्ख्या नपुगेकाका सम्बन्धमा समितिका सभापति सुशीलकुमार श्रेष्ठ आआफ्ना पार्टीका निर्देशन र जिल्लाका योजना छनोटका लागि सभासद् जिल्लामा गएका कारण त्यस्तो अवस्था आएको बताउँछन् । सभापति श्रेष्ठले सभासद्ले आवश्यक छलफलका लागि वैधानिक थलो संविधासभा हुँदा हुँदै जिल्लामा जानु उचित नभएको बताए । 
संविधानसभामा यही माघ ५ गते एमाओवादी र मधेसी मोर्चा आबद्ध सभासद्द्वारा तोडफोड र माघ ११ गते विपक्षीको अवरोध भए पनि सभाध्यक्षद्वारा प्रस्ताव समिति गठनपछि दुई ध्रुवमा विभाजित सभासद् आआफ्ना उद्देश्यका साथ जिल्ला गएपछि सिंहदरबार यतिखेर सुनसान देखिएको हो । 
सभाध्यक्षको कदमको विरोध गर्दै प्रमुख प्रतिपक्षी एमाओवादीले सरकार र सभामुखलाई असहयोग गर्ने नीतिअनुसार संविधानसभा र व्यवस्थापिका–संसद्का सबै समितिमा उपस्थित नहुने तथा संविधानसभामा भएका गतिविधिका बारेमा जनतालाई जानकारी गराउन जिल्ला जाने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले बताए ।
त्यस्तै प्रमुख सत्ता घटक काँग्रेस र एमालेले पनि संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउन जिल्ला जान निर्देशन दिएपछि अधिकांश सभासद् जिल्ला गएका छन् । 
एमालेका प्रमुख सचेतक अग्नि खरेलले संसदीय दलको बैठकले संविधानसभामा भएको यथार्थ जानकारी जनतालाई गराउनका लागि जिल्ला जान निर्देशन दिएपछि सभासद् ११ दिनका लागि आआफ्ना गृहजिल्ला गएको बताए ।  नेता खरेलले संविधानसभा, प्रस्ताव समितिमा रहेका सभासद् भने आगामी शनिबार बस्ने बैठकमा उपस्थित हुन आइपुग्ने जानकारी दिए ।
यसै अवधिमा माघ मसान्तसम्म जिल्ला, नगर तथा वडाबाट योजना तर्जुमा गर्ने अन्तिम समय भएकाले पनि अधिकांश सभासद् आ आफ्ना जिल्लामा व्यस्त छन् । 
सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकबाट निस्किएपछि सभासद् कमलाकुमारी घिमिरेले योजना तर्जुमामा भाग लिन आफू आजै जिल्ला जान लागेको बताए ।
सरकारको नेतृत्वकर्ता दल काँग्रेसको संसदीय दलको बैठकले पनि संविधानसभाको बैठक नभएको यस समयमा संविधान निर्माणमा भएका कामकारबाही र संविधानसभामा देखिएको गतिरोधको अवस्था कसरी आयो भन्ने सम्बन्धमा जनतालाई जानकारी गराउन आफ्ना सभासद्लाई जिल्ला जान निर्देशन दिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले राससलाई जानकारी दिए । 
त्यस्तै सिंहदरबार परिषरमा आज भेटिनुभएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले आफू शुक्रबार नै जिल्ला जाने अवगत गराउँदै पार्टीले जिल्लामा जान निर्देशन दिएका कारण सभासद् जिल्लामा गएको बताए ।
यसरी विभिन्न उद्देश्यले सभासद् जिल्लामा गएपछि सिंहदरबारमा राजनीतिक चहलपहल कम देखिनाका साथै संसदीय समितिका गतिविधि प्रभावित भएका छन् । यद्यपि संविधानसभाको प्रस्ताव समितिको बैठक भने आगामी शनिबार बस्ने तय भएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।  रासस 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।