काठमाडौँ, १५ माघ । अर्थमन्त्री डा.रामशरण महतले चीन सरकारको सहयोगमा सञ्चालित विकास आयोजनाका काम छिटो गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।
अर्थमन्त्री डा महत र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच बिहीबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले विशेषगरी काठमाडौंँ चक्रपथको विस्तार, रसुवागढी र तातोपानी, बेनी जोमसोम सडकको स्तरोन्नति तथा पोखरा विमानस्थलको निर्माणका काम छिटो पूरा गर्न आग्रह गरेका हुन् ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टका अनुसार अर्थमन्त्री डा महतले उक्त आयोजना सम्पन्न भएपछि नेपालमा लगानी गरी चीनले प्रचूर फाइदा लिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै दक्षिण एसियाली देशमा समेत निर्यात गर्न धारणा राखेका थिए ।
सो अवसरमा राजदूत चुन्ताईले आर्थिक विकासलाई तीव्रता दिन अर्थमन्त्री डा महतले गरेको अगुवाइको प्रशंसा गर्दै ती कार्य छिटो पूरा हुने विश्वास दिलाउनुभएको थियो । उनले चीनले नेपालमा संयुक्त लगानीमा औद्योगिक क्षेत्र तथा सूचना प्रविधि पार्क स्थापना गर्न चाहेको जानकारी गराएका थिए ।
अर्थमन्त्री डा महतले चीन भ्रमणको समयमा पनि चीनका लगानीकर्तासमक्ष नेपालमा संयुक्त लगानीका लागि आग्रह गरेका थिए ।
Comments