माघ १४ । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफूहरुले संविधानसभाबाट जनताको संविधान आउदैन भनेर पहिलेदेखि नै भन्दै आएको दोहोर्याएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष किरणले आफूहरुले जनताको संविधान बनाउन सबै पक्षबिच सर्वपक्षीय छलफल मात्रै विकल्प रहेको बताए ।

उनले संविधानसभाभित्र दलहरूबीच देखिएको विवादलाई चियाको कपभित्रको तूफानको संज्ञा दिएका छन् ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष वैद्यले एमाओवादी नेतृत्वको मोर्चाको आन्दोलनको सार र अर्थ अझै स्पष्ट नभएकाले त्यसको धार प्रष्ट हुन नसकेको धारणा राखे ।

माघ ८ मा संविधान आउन नसकेपछि संविधानसभाको औचित्य थप कमजोर भएको जिकिर गर्दै उनले अधिकार सम्पन्न सर्वपक्षीय राजनीतिकसभामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ दलले अङ्कको आधारमा आफूहरूलाई आत्मसमर्पण गराएर संविधान ल्याउने प्रयास गरेको बताउँदै त्यो घातकसिद्ध हुने टिप्पणी गरे ।

राष्ट्रवादी मञ्चका संयोजक राजेश्वर देवकोटाले नेतृत्व र सिद्दान्त स्पष्ट नहुँदा संविधान आउन नसकेको बताउँदै नेपालमा जातीय संविधान उपयुक्त नभएको धारणा राखे ।

जनजाति आन्दोलनका अगुवा मल्ल के सुन्दरले उत्पीडन जाति, समुदायलाई अन्तरिम संविधानमा दिइएका हक, अधिकारसमेत कुण्ठित हुने गरी संविधान ल्याउने प्रयास भइरहेको आरोप लगाए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।