माघ ३ । नेकपा-माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’ले अब संयुक्त आन्दोलनबाट नै राजनीतिक संकट समाधान हुने घोषणा गरेका छन् ।
पार्टीका उपत्यकाका अगुवा कार्यकर्तालाई कुपन्डोलस्थित माओवादी जनवर्गीय सङ्गठनको कार्यालयमा प्रशिक्षण दिँदै बादलले कम क्षतिमा सर्वपक्षीय राजनीतिक सभा गरौं भन्दा नमानेकाले अब आन्दोलनबाट नै सबै कुराको छिनोफानो हुने जिकिर गरेका छन् । संयुक्त आन्दोलनको बलबाट राजनीतिक संकट समाधान हुने उनको भनाई छ ।
उनले बन्दलाई जनताको उत्कर्ष र प्रतिरोधको उच्चतम रुपको संज्ञा दिँदै सबै पक्ष सडकमा आउनुको एउटै उद्देश्य संविधानसभाबाट अग्रगामी संविधान नआउने बुझेर भएको उल्लेख गरे ।
संघीयताका विषयमा संविधानसभामा ढुंगामुढालाई पहिचान बनाउने भन्ने कुरा चलेको भन्दै उनले यो संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने दाबी समेत गरे ।
९ गतेसम्म आन्दोलन तय
नेकपा-माओवादी, एमाओवादी, मधेसी मोर्चा लगायत मिलेर माघ ६ गतेका लागि संयुक्त नेपाल बन्दको घोषणा गरिएको छ । उक्त बन्दलाई सशक्त रुपले सफल पार्न सबै शक्तिले सबै बल प्रयोग गर्ने देखिएको छ ।

यो संविधानसभा नै विघटन गरेर सर्वपक्षीय राजनीतिक सभाको माग गरिरहेको मोहन वैद्य नेतृत्वको माओवादीले भने माघ ९ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको छ ।

उक्त आन्दोलन अन्तर्गत आइतबार काठमाडौं, भक्तपुर र ललितपुरमा सिठ्ठी जुलुस गर्ने, ५ गते तिनै जिल्लामा मसाल जुलुस गर्ने, ६ गते नेपाल बन्द गर्ने, ७, ८, ९ गते भने संविधानसभा भवन लक्षित विभिन्न आन्दोलन गर्ने तथा संविधानको मस्यौदा आए त्यसलाई जलाउने लगायत रहेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।