माघ । संविधानसभाको दोस्रो निर्वाचनपछि तोकिएको माघ ८ मा संविधान जारी गर्नुपर्ने मिति त्यतिकै टर्ने लगभग निश्चित जस्तै बनेको छ । माघ ८ मा मस्यौदा जारी गर्ने या नगर्ने तथा मिति कहिलेसम्मलाई सार्ने भन्ने विषयमा भने दलहरु पुगेका छैनन् ।
सत्तारुढ ४१३ जना सभाषदले सहमति नभए प्रक्रियाबाटै भएपनि संविधान जारी गर्नुपर्ने माग गर्दै सभामुखलाई हस्ताक्षर बुझाए पनि प्रक्रियाबाट संविधान जारी गर्न सत्तारुढ दलकै शिर्ष नेता इच्छुक देखिएका छैनन् ।
सत्तारुढ दलको नेतृत्वगामी भूमिकामा जस्तै देखिएका एमाले अध्यक्ष केपी ओलीले माघ ८ मा संविधान नआउने बताएसँगै माघ ८ मा संविधान नआउने लगभग निश्चित जस्तै बनेको हो ।
शुक्रवार रिपोर्टस क्लबले समयमै संविधान जारी गर्न दबाव दिने उद्देश्यले संचालन गरेको अभियानमा ओलीले अहिलेकै अवस्थामा माघ ८ मा संविधान जारी गर्न नसकिने धारणा अभिव्यक्त गरेका छन् । दलहरुबीच सहमति हुनुपर्ने भन्दै अहिले सहमति हुने सम्भावना नरहेको उल्लेख गरे ।
सोही अवसरमा उनले माघ ८ मा संविधान जारी गर्न दलहरुबीच सहमति आवश्यक रहेको औल्याउँदै सहमति बिना माघ ८ मा संविधान नआउने स्पष्ट संकेत दिए ।
सो अवसरमा ओलीले एकीकृत माओवादीले संविधान जारी गर्न नचाहेका कारण सहमति हुन नसकेको आरोप पनि लगाए ।
यसअघि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले द्वन्द्वकालको धङधङी छाडेर एकअर्कालाई सिध्याउने ढंगले नभएर द्वन्द्वोत्तरकालमा सबै मिलेर निकास दिनुपर्ने बताएका थिए ।
सत्तारुढ दलहरु अझै पनि प्रक्रियामा गएर दुई तिहाईबाट संविधान जारी गर्नुपर्ने पक्षमा देखिएका छन् भने केही समय मिति सारेर भएपनि सहमतिबाट संविधान जारी गर्नुपर्नेमा विपक्षी दलहरु छन् ।
Comments







