हेलोखबर सम्वाददाता
पुस । नेपाली कथानक चलचित्र कोहिनुरलाई पाईरेसी गरी युट्युबमा सार्वजनिक गरिएको छ । आकाश अधिकारीले निर्देशन गरेको स्व. नायक श्रीकृष्णको अन्तिम चलचित्र कोहिनुरको पाईरेसी भएको हो ।
निर्देशक अधिकारीले पाईरेसी गरी युट्युबमा राख्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर अधिकारीले फिल्म पाईरेसी गर्नेलाई स्थानीय प्रशासनको सहयोगमा पत्ता लगाएरै छाड्ने बताए । युट्युबबाट कसैले फिल्म डाउनलोड गरेको भए पुनः अपलोड नगर्न आग्रह समेत गरेका छन् ।
निर्देशक अधिकारीले फेक आइडी बनाएर चलचित्र अपलोड गरिएको बताउँदै विदेशबाट यस्तो भएको पाइए दुतावासमार्फत अपराधिलाई समातिने समेत जनाए ।
नेपालबाट ११ करोडको ब्यापार गरेको कोहिनूरलाई हालै मात्र विश्व बजार तर्फ हङकङ, कतार, कोरिया, इजराईल, डेनमार्क र फिनल्याण्डको पहिलो चरणको प्रर्दशन सकेर अष्ट्रेलिया अमेरिकामा र मलेसिया, जापान सहित धेरै राष्ट्रमा प्रर्दशन गर्ने तयारी निर्माताहरुले गरेका थिए ।
कसले पाईरेसी गरी सार्वजनिक गर्यो त युट्युबमा
निर्देशक अधिकारीले प्रशासनको सहयोगमा युट्युबमा फिल्म सार्वजनिक गर्नेलाई कारबाही गर्ने बताए पनि अपलोड गर्ने व्यक्तिको पहिचान भने हुन सकेको छैन ।
युट्युबमा राखिएको लिंक अनुसार उक्त चलचित्र विनय प्रधान नामक व्यक्तिले अपलोड गरिएको पाइएको छ । युट्युब तथा गुगल प्लसमा उनले जुन नाम र फोटो राखेका छन् फेसबुकमा पनि उनलाई त्यहीँ नामबाट भेटाउन सकिन्छ ।
चलचित्र अपलोड गर्ने प्रधानको तस्बीर । उनलाई फेसबुकमा पनि सोही नाम र तस्बीरमा भेटाउन सकिन्छ । |
यसभन्दा अगाडी अन्य कसैले युट्युबमा राखेको भए पनि अहिले अन्य लिंक भने भेटाउन सकिदैन । तर, बुधबार युट्युबमा विनय प्रधानले भने २ घण्टा ३३ मिनेट लामो चलचित्र एउटैलाई २ पटक अपलोड गरेका छन् । जसमा यो समाचार तयार पार्दासम्म एउटालाई ७ सय र अर्कोमा ५० जनाले भ्यू गरिसकेका छन् ।
फेसबुक अबाउट असमा प्रधानले आफूलाई पिज्जाहटको सदस्य रहेको खुलाएका छन् । फेसबुकमा उनले भारतको पर्वतसारबाट आएको र हाल दुबईमा रहेको उल्लेख छन् ।
तर, उनले अपलोड गरेको कभर फोटोमा भने अर्को उनका एक साथीले आफ्नो गाउँको फोटो राखेकोमा धन्यवाद दिएका छन् । राम दवाह नाम गरेको प्रधानका ति साथीको ठाउँ भने फेसबुकमा पोखरा उल्लेख छ । यसो हुँदा युट्युबमा फिल्म राख्ने व्यक्ति कहाँका हुन् भन्नेबारे अन्यौल देखिन्छ । तर, आइपी ठेगानाबाट भने उनलाई प्रहरीले पक्राउ गर्न सक्ने देखिन्छ ।
Comments