काठमाडौँ, १९ मङ्सिर । संविधानसभाको बैठक आगामी मङ्गलबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले समितिको प्रतिवेदन पेस गरेपछि सभाध्यक्ष नेम्वाङले सो जानकारी गराएका हुन् । प्रमुख दलबीच संविधानका विवादित विषयमा लामो समयदेखि सहमति हुन नसकेका सन्दर्भमा लामो कसरतपछि संवाद समितिले संविधानसभामा प्रतिवेदन पठाएको थियो । प्रतिवेदन बुझाइएपछि दलबीच रहेको अविश्वास, तिक्तता र संवादहीनताको अवस्थालाई अन्त्य गर्न सहयोग पुगेको छ ।
नेपाली काँग्रेस र नेकपा (एमाले) लगायत सत्ताधारी दलले संविधानका विवादित विषयमा गत कात्तिकमा नौबुँदे प्रस्ताव पेस गरेपछि दलबीच संविधानका विवादित विषयमा टुङ्गो लाग्नाको साटो झन् विवाद बढ्दै गएको थियो ।
संविधानसभाका कुन प्रक्रियाबाट प्रतिवेदन पठाउने भन्ने विषयमा लामो माथापच्चीपछि दलहरुले संवाद समितिका सभापति डा भट्टराईलाई स्वविवेक प्रयोग गर्न सुझाएका थिए । दलहरुको सोही सुझावपछि सभापति डा भट्टराईले सभाध्यक्ष नेम्वाङलाई शुक्रबार प्रतिवेदन बुझाएका हुन् । शुक्रबार बुझाइएको प्रतिवेदनमाथि संविधानसभामा छलफल र मतदान भने हुने भएको छ ।
प्रतिवेदन बुझेपछि सभाध्यक्ष नेम्वाङले दलहरुले संविधानका आधारभूत विषयमा सहमति जुटाएमा तथा संविधान जारी गर्न केही प्रावधान निलम्बन गर्नेमा सहमति जनाएमा आगामी माघ ८ गतेभित्रै संविधान जारी गर्न सकिने जानकारी दिएका थिए ।
Comments