मंसिर ९ । १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आईपुगेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बहुमत भन्दा पनि सहमतिकै आधारमा संविधान बनाउन सुझाव दिएका छन् ।
वीर अस्पतालमा रहेको राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण कार्यक्रममा बोल्दै मोदीले संविधान बनाउने उत्तम बाटो सहमति नै भएको भन्दै संख्याको बलमा नभएर सहमतिको आधारमा संविधान बनाउनुपर्ने बताएका हुन् ।
मोदीको यस्तो सुझावले एकीकृत नेकपा माओवादी नेतृत्वमा रहेको मधेसीवादी दलसहितको २२ दललाई बल पुगेको छ । यता, सहमति नजुटेमा बहुमतबाट नै भएपनि संविधान जारी गर्नुपर्ने बताउँदै आएका कांग्रेस एमालेलाई भने अप्ठ्यारो पर्ने देखिएको छ।
कांग्रेस एमालेले बहुमतको प्रक्रियाबाट भएपनि संविधान निर्माण दबाब दिइरहेका छन् भने एमाओवादी र मधेसी दलहरुले सहमतिबाटै संविधान बनाउनुपर्ने अडान लिइरहेका छन् । यस्तै बेला, मोदीबाट यस्तो सुझाव आएको हो ।
मोदीले  नेपालको खुसीको लागि संविधान जरुरी रहेको भन्दै संविधान बने सारा नेपाली खुसी हुने समेत बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।